असार ६, धादिङ । धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन । घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक अधिकृत कृष्णप्रसाद पौडेललाई घुस रकम ४० हजार रुपैयाँसहित उनकै कार्यकक्षबाटै पक्राउ गरेको हो ।
वन कार्यालयले समातेको काठका धनीलाई मुद्दा नचलाउने सर्तमा ४० हजार रुपैयाँ घुस लिएका पौडेललाई आयोगको टोलीले पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार वन कार्यालयले समातेको काठको कुनै पनि कागजपत्र तयार नगरि पौडेलले घुस लिएका हुन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।