• २०८३ असार १२ गते शुक्रवार

न्यून दृष्टियुक्त विद्यार्थीलाई न्यानो कपडा वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४,पाल्पा । पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

समितिका सल्लाहकार होमबहादुर थापाले जाडोको मौसम सुरु भएसँगै न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो बनाई अध्ययनलाई सहजता ल्याउन कपडा वितरण गरिएको बताउनुभयो । समितिका सदस्य बृहस्पति रानाले न्यून दृष्टियुक्त बालबालिकाको पठ्नपाठनलाई सरल बनाउने र उनीहरुको शिक्षामा पहुँच विस्तार गर्ने वातारण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार आर्यलले विसं २०५२ मा स्थानीयवासीको सहयोगमा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई खानाको व्यवस्था गरी पठनपाठन सञ्चालनमा ल्याएकोे बताउनुभयो । विद्यालयले उनीहरुका लागि आवासीय सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले यस विद्यालयबाट न्यून दृष्टियुक्त भएका १२० बढी विद्यार्थीले उच्च शिक्षा प्राप्त गरिसकेको उहाँको भनाइ छ । तीमध्ये अधिकांश जागिरे अवस्थामा रहेको उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले छरछिमेकका न्यून दृष्टियुक्त बालबालिका अलपत्र अवस्थामा भेटिएमा विद्यालयले आवासीय सुविधासहित निःशुल्क पठनपाठनको ब्यवस्था गर्ने बताउनुभयो । उहाँले न्यून दृष्टियुक्त बालबालिकाले पढ्न पाउने अधिकारबाट बञ्चित हुन नपर्ने गरी पठनपाठनको सेवा दिएकोे धारणा व्यक्त गर्नुभयो ।

यस विद्यालयमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जालगायत जिल्लाका न्यून दृष्टियुक्त बालबालिकाले अध्ययन गर्दै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस