पौष ४, भक्तपुर । योमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाँड एवं दान पर्वका रुपमा योमरी पून्हिमा मनाएका छन् । धार्मिक विश्वासअनुसार आजका दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सुचकको रुपमा लिने गरिन्छ । धान्य पूर्णिमा अर्थात् योमरी पून्हिको अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ ।
मल्लकालदेखि यो पर्वमा आजका दिन कुनै पनि चीज दान गर्दा पूण्य प्राप्त हुने विश्वासले योमरी लिने र दिने गरिएको संस्कृतिविद् श्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो । आज बिहानैदेखि विभिन्न शिवालयमा दर्शन गर्ने परम्परा रहेको छ । योमरी चढाएर पुजा गर्नेको शिवालयमा भीड लागेको हो ।
योमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पीठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ । पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ । यसो गर्दा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ । परम्पराअनुसार योमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा योमरी पुजा गर्ने र छोरी चेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । योमरीलाई कुवेर र गणेशका प्रतिकका रुपमा समेत लिइन्छ ।