मंसिर ३, बाँके। बाँकेको कोहलपुरमा कांग्रेसका उम्मेदवार र नेतारकार्यकर्ताबीच मतदानस्थलमै कुटाकुट भएको छ । मतदान सकिएपछि गत राति उनीहरूबीच कुटाकुट भएको थियो । नगर सभापतिका उम्मेदवार वीरेन्द्र शाहले एक मतदातालाई मतदानस्थलमै एक हजार दिएको बिषयमा बिबाद सुरू भएको थियो ।

सभापतिका अर्का उम्मेदवार राजेन्द्र श्रेष्ठ पक्षधरका युवाले पैसा दिएको बिषयमा उम्मेदवार शाहलाई किन पैसा दिएको भनेर प्रश्न गर्दा बिबाद भएको थियो । पार्टीभित्र शाह संस्थापनइतर र श्रेष्ठ संस्थापन पक्षधर हुन् । एक प्रत्यक्षदर्शीले भने, ‘मतदान सकिएर मतपेटिकासमेत राखिसकेपछि पैसा दिएको कुरामा बिबाद सुरु भएको थियो । पैसा दिएर मतदाता किनेको भन्दै श्रेष्ठ पक्षका युवाले शाहलाई र्याएखर्यााख्ती पार्न सुरु गरेपछि बिबाद उत्सकर्षमा पुगेको हो ।’
त्यहीक्रममा शाह र तरुण दलका हरिसिंह कठायतबीच भनाभन भएपछि शाहले लाठी उठाएर हरिसिंहलाई हिर्काएका थिए । त्यसपछि हरिसिंहले पनि शाहलाई एक मुक्का हिर्काएको ती प्रत्यक्षदर्शीले बताए । श्रेष्ठले आफ्ना समर्थकलाई शान्त पार्न धेरै प्रयास गरे पनि बिबाद बढ्दै गएपछि हातहाला हालको स्थिति उत्पन्न भएको थियो । ‘श्रेष्ठले माहोल शान्त पार्न धेरै प्रयास गरिरहनुभएको थियो,’ उनले भने ‘तर शाहको उम्मेदवारी सदर नभएपछि आफ्नो प्यानलका ती व्यक्तिलाई पैसा फिर्ता दिएको भनेर बचाउ गरिरहँदा बिबादले चर्कौ रुप लिएको थियो ।’
शाह पक्षधर युवा नेता पूर्णप्रसाद आचार्यले शाहमाथि हातपात भएको भन्दै आफ्नो सामाजिक सञ्जालमा राति नै सार्वजनिक गरेका छन् । आचार्यले सभापति पदका उम्मेदवार राजेन्द्र श्रेष्ठले नै वीरेन्द्र शाहमाथि हातपात गरेको उल्लेख गरेका छन् । पैसाको बिबाद ठूलो नभएको र आफूले सबैलाई सम्झाइरहेको बेला माहौल शान्त हुँदै गर्दा उम्मेदवारले लाठी हान्नु गलत भएको श्रेष्ठले बताए । कांग्रेस बाँकेका उपसभापति फूलाराम थारुले सुरुमा आफैँले लाठी हानेर शाहले श्रेष्ठकाविरुद्ध गलत प्रचार गराएको तर्क गरे ।