कात्तिक २, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेशका महत्वपूर्ण नयाँ काम थालनी गर्दा तीन वटा कुरालाई आधारस्तम्भ बनाइएको बताउनुभयो । ‘समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेश’ भन्ने नाराका साथ यो वर्षदेखि आफ्ना सम्पूर्ण प्रादेशिक गतिविधि अगाडि लैजाने निर्णय गरेको मुख्यमन्त्री केसीको भनाइ छ ।
आज लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा प्रेस सेन्टर दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री केसीले गठबन्धनको सरकारले आफ्ना गतिविधिलाई व्यवस्थित गर्ने कार्य भइरहेको बताउनुभयो ।
मुख्यमन्त्री केसीले यो वर्षबाट राजधानीको प्रशासनको भवन निर्माण गर्ने र जग्गा प्राप्तिसँगै निकट भविष्यमा सम्झन लायक गुरुयोजनासहितको सुन्दर राजधानी र शहर निर्माण गर्ने, आम जनताको चाहनाअनुरुप व्यवस्थित राजधानी निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“तत्काल प्रदेश राजधानी भित्र मन्त्रालय स्थापनाका लागि राप्ती गाउँपालिका क्षेत्रभित्र रहेको चालिस हेक्टर खाली जमिन व्यवस्थापन गर्ने छौँ”, उहाँले भन्नुभयो । जमिन प्राप्त भएलगत्तै प्रदेश सरकारले यसको लागि निणर्य गर्छ र सङ्घीय सरकारले सिफारिस गर्छ । “सङ्घीय सरकारले जुन दिन हामीलाई जग्गा उपभोग गर्ने अधिकार दिन्छ त्यस दिनबाट भौतिक संरचना निर्माणको कामलार्ई अगाडि बढाउने छौँ । त्यसका लागि बजेट विनियोजन भइसकेको छ”, मुख्यमन्त्री केसीले भन्नुभयो ।