सम्माननीय प्रधानमन्त्रीज्यू ,
न्यानो अभिवादन !
सर्वप्रथम गणतान्त्रिक नेपालमा तीन तहको चुनावपश्चात् जनताको अभिमतबाट प्रधानमन्त्रीमा नियुक्ति हुन सफल हुनुभएकोमा हार्दिक वधाई तथा शुभकामना ! हुनतः सन्देश पहिल्यै दिईसकेको छु ।

भनिन्छ नि, नेपालमा जति अवसरका महासागरहरु अगाडि आउँछन्, त्यतिकै चुनौतीका पहाडहरु पनि खडा भइदिन्छन् । तपाईको राष्ट्रवादी अडानका कारण २०७४ मा भएका तीन चरणका चुनाव बामपन्थीहरुको पोल्टामा आउन सफल भएसँगै सारा नेपाली जनता तथा विदेशमा रहेका नेपालीहरुको चासोको विषय बनेको थियो कि, देश कसरी अगाडि बढ्छ भनेर । देश राजनीतिक संकटबाट कम्सेकम मुक्त भएको त्यस घडिमा लागेको थियो कि, स्थानिय, प्रदेश र संघमा निर्वाचित जनप्रतिनिधिहरुले तोकिएको ५ वर्ष उद्घाटन, गोष्टी, सेमिनारमा मात्र भाग लिएर समय वरवाद गर्ने छैनन् । दैनिक जीवनमा प्रशासनिक निकाय लगाएत अन्य विभिन्न कार्यालयहरुमा जनताको काम कारवाहीप्रति चासो राख्लान ।
शुरुका दिनमा जव नेकपा एमाले र एनेकपा माओवादी दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो र झण्डै दुई तिहाईको सरकार वन्यो तव सारा विश्वको ध्यान नेपाल सरकारतिर गएको थियो । शुरुका दिनमा सरकारले राम्रो काम गरेको पनि थियो । कहिँ कतैबाट वाधा अवरोधहरु प्नि सिर्जना भएको थिएन । प्रमूख प्रतिपक्ष दल धेरै नै कमजोर अवस्थामा थियो । बृहत दीर्घकालिन विकासे रणनीतिका योजनाहरु लगायत विकासका अनेक मोडलहरु प्रयोगमा ल्याउन कुनै बाधा अड्चनहरु पनि थिएनन् । तर समयले कोल्टो फेर्दै गयो । तपाई नेतृत्वको सरकारले धेरै बाधा र व्यबधानका बावजुद पनि धेरै महत्वपूर्ण कार्यहरु नगरेको पनि होइन । रेलमार्गको धारणा र संचालन कार्यविधिसहित रेल संचालन, सडक मार्गहरु निर्मित र भएकामा सुधार, तुइन विस्तापित, लोडसेडिङ्गको अन्त्य, कयौं ठाउँहरुमा पुल निर्माण, सामुदायिक विद्यालयहरुमा सुधार, अन्तरराष्ट्रिय सम्बन्धमा सुधार, मेलम्ची खानेपानी योजना सम्पन्न, ७२ सालको भुकम्पले विस्थापित परिवारलाई बासस्थानको व्यबस्था, भत्केका ऐतिहासिक महत्वका संरचनाहरु जस्तै विभिन्न मठ मन्दिर, भवन, धरहरा, रानीपोखरी, दरवार हाइस्कूल आदिको निर्माण, व्यक्तिले आफ्नो नाममा दर्ता गराएका कर्यौं विगा सरकारी जग्गाहरु सरकारको नाममा ल्याउन सफल, भष्टचार नियन्त्रणमा केही कमी, सुन तस्करीमा कमी आदि सकारात्मक कार्यहरु हुँदा हुँदै पनि मिडियाद्धारा सहि संप्रेषण नभएर हो या विपक्षीहरुको चलखेलले हो यसप्रति जनताले बुझेपनि सार्वजनिकरुपमा प्रचार प्रसार गर्न अलि कन्जुस्याई गरियो । तैपनि सकारात्मक कामको मूल्याँकन जनताले अवस्य नै गर्नेछन् ।
तथापी यति हुँदा हुँदै पनि नेकपाको आन्तरिक कलह, प्रतिष्ठाको लागि मुठभेड अनि अतीतको तिक्तताका साथै पदीय भागवण्डाको विवादले गर्दा कार्यकाल दुई वर्ष पुरा हुन नपाउँदै आफ्नै पार्टीका सांसदहरुले विपक्षी दलको भूमिका खेल्न थालेपछि तपाईलाई पार्टी र सरकार चलाउन धेरै नै असहज परिस्थितिको सिर्जना भएको कुरा पनि कसैबाट छिपेको छैन । गत साल संसारभरी फैलिएको कोरोनाको महामारीमा नेपाल पनि अछुतो रहन सकेन र कयौं मानिसहरुले ज्यान गुमाए तथापी अन्य देशको तुलनामा गत वर्षको कोभिडमा नेपालले त्यति ठूलो क्षति ब्यहोर्नु परेन ।
गत साल एकातिर कोरोना महामारी फैलिइराखेकोले त्यसलाई निष्तेज पार्नुपर्ने छ भने अर्कोतिर जनतालाई गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर जुटाउन आवश्यक थियो । तर नेकपाका कयौं नेता कार्यकर्ता भने भागवण्डाको राजनीतिमा व्यस्त भई पार्टीलाई फुटको सँघारसम्म पुर्याउन पछि परेनन् र तपाईले बाध्य भएर गत पौष ५ गने प्रतिनिधिसभा विघटन गर्नुभयो । सर्वोच्चले पछि प्रतिनिधिसभा पुनस्थापना गर्यो र आफ्नै पार्टीका नेताहरुबाट तपाईलाई बारम्वार राजिनामा दिन वाध्य बनाए । तर पनि पछि सर्वोच्चको नेकपाको विवाद सम्बन्धि मुद्यामा नेकपालाई पुर्ववत अवस्थामा पुर्याइदियो र दलीय कित्ताकाँट हुँदासमेत एमाओवादी अलग हुँदा पनि फेरि नेकपा एमालेको आन्तरिक विवाद चरमत्कोर्षमा पुग्यो ।
एकातिर माओवादीले सरकारको विश्वासको मत फिर्ता लिएको अवस्था थिएन भने अर्कोतिर नेकपा एमालेमा माधव नेपाल गुटले समानान्तर कमिटी भन्दै देशभर र्याली पिट्दै हिँडेको अवस्था थियो । पछि तपाई आफैले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम यहि बैशाख २७ गते विश्वासको मत लिन खोज्नुभयो र यसमा न तपाईले विश्वासको मत लिन सक्नुभयो न त अन्य पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरी सरकार बनाउन सक्ने परिस्थिति निर्माण भयो । जसले गर्दा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम फेरि पनि तपाई नै प्रधानमन्त्री हुनुभएको छ ।
भलै संबैधानिक प्रावधानअनुसार एक महिना भित्रमा विश्वासको मत पक्कै पनि लिनुहुने छ भन्ने विश्वास आम जनताले गरिरहेको सन्दर्भमा वर्तमान अवस्थामा फेरिपनि कोभिड दोश्रो चरणमा प्रवेश गरेको छ र अहिले देश लकडाउनको अवस्थामा छ । पहिलाको तुलनामा यस पालिको कोभिड धेरै नै खतरा सिद्ध भएको कुरा वर्तमान अवस्थामा हरेक उमेरका मानिसमा संक्रमण र मृत्युदरबाट नै प्रष्ट थाह हुन्छ । यसतर्फ सरकारको ध्यान पहिला नै तदरुकताकासाथ जानुपर्नेमा विपक्षी दलहरुले पनि कतिखेर कुर्ची खाली हुन्छ र विराजमान हुन पाइएला भन्दैमा दिन गुजारे तथापी यस्तो राष्ट्यि संकटको समयमा सरकारले गरेको प्रयत्नलाई प्रोत्साहन र्दिदै अझ प्रभावकारी ढंगबाट काम गर्न सहयोग गर्नु त परै जावस भइराखेको कार्यमा पनि जनताको मनोवल गिराई विगतका केहि महिना राजनीतिक खिचातानीमा नै देश अल्झिएकोले कोभिडका विरामीको व्बवस्था गर्न सरकारले खासै ध्यान दिन सकेन भनेर यत्रतत्र गुनासाहरु आइरहेकोले यसै सन्दर्भमा प्रधानमन्त्रीज्यूलाई यस पत्रमार्फंत केहि कुराहरु ध्यानाकर्षण गराउन चाहान्छु :
सर्वप्रथम ज्यान रहे धन र सवैथोक पाइन्छ नै त्यसैले वर्तमान अवस्थामा कोभिडको चपेटामा परि धेरै मानिसहरुले ज्यान गुमाइरहेका र कयौं संक्रमित मानिसहरु दिनानुदिन थपिइरहेका छन् । त्यसैले गरिव बिरामी जनताको पनि पहुँच पुग्ने र सुनुवाही
हुनेगरी कोभिड अस्पत्ताल थप गर्ने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा कोभिड विरामीको लागि अति आवश्यक पर्ने स्वास्थ्य सम्बन्धि सामाग्रीहरु जस्तै हालको लागि अक्सिनज सिलिण्डर र अस्पत्तालमा भेन्टिलेटर उपलब्ध गराउने कार्य तीव्रताका साथ गर्ने । किनकी धनीले त संम्भावित घटनाको आँकलन गरी ग्याँस सिलिण्डर जोगो गरी राखेका छन् तर गरिबको लागि भने न भनसुन, न त राहत, एउटा अक्सिजन सिलिण्डरको अभावले गर्दा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना नहोस् ।
अहिले प्राइभेट अस्पत्ताल र मेडिकल माफीयाले लुट्ने मौका यहि हो भनि विरामीको पैसा कोभिड उपचार गर्ने नाममा लुटीराखेकाले सरकारले अविलम्ब जुनसुकै अवस्थाका कोभिड विरामीको उपचार जुनसुकै अस्पत्तालमा गरेपनि निशुल्क गर्ने घोषणा गरोस् ता कि यी मेडिकल माफीयाहरुले राज्य र जनताको सम्पति लुट्न नपाउन् ।
कोरोनाको चपेटामा देश रुमलिइरहेको समयमा स्वास्थ्यकर्मीहरुको विरामीप्रतिको सेवाभाव अत्यन्त सह्रायिन भएकोले सरकारले पनि अझ प्राथामिकताकासाथ सम्बन्धित डाक्टर विशेषज्ञको टोली, दलीय स्वार्थमा नलागि अन्य दलका विज्ञ टोलीहरुलगाएत समाजका अन्य ख्यातीप्राप्त ब्यक्तिहरु र आवश्यक परे अन्र्तराष्ट्यि विज्ञ टोली मगाई यस सम्बन्धमा के कसरी जनतालाई सर्व सुलभ तरिकाले बचाउन र अस्पत्तालमा छिटो छरीतो सेवा प्रदान गर्न सकिन्छ भन्ने कुरामा राय सल्लाह लिन अत्यन्त जरुरी छ ता कि यस्तो अवस्थामा कृपापात्रहरु नसल्वलाउन् ।
सरकारले ढिला नगरी विशेषगरी भारतबाट आउने नेपालीलगायत अन्य मानिसहरुको लागि सीमा नाकाको केहि ठाउँहरुमा खाना र बस्नको सुविधा हुने गरी होम क्वारेनटाइनको व्यबस्था गर्ने । जसले गर्दा भारतजस्तो अति संक्रमित ठाउँबाट आवत जावत गर्ने मानसिहरुलाई त्यहि ठाउँमा पिसिआर टेष्ट गरेर मात्र गन्तव्यमा पुर्याउन सकियोस् ।
अहिलेको कोरोना महामारीलाई मध्येनजर राखि आवश्यक परे स्वास्थ्य संकटकाल पनि लगाउनुपर्ने कुरातिर ध्यान जान जरुरी छ । उक्त कोभिड महामारीलाई जित्नको लागि सरकार एक्लैले मात्र नसक्ने हुँदा आम सर्वसाधारण नागकिहरुले यस कुरामा आफु पनि सजग भई सरकारलाई सहयोग पुर्याउनु नितान्त आवश्यक छ ।
प्रधानमन्त्रीज्यू, अब वजेट प्रस्तुत गर्ने समय पनि आउन लागेको छ । हाम्रो जस्तो गरिब देशका जनताले एक गास खान नपाएर अवस्था नाजुक छ भन्न परेको छैन । तर गरिब जनताको पहुँच स्वास्थ्य क्षेत्रमा पुग्न नसकेकाले एउटा गरिब नेपाली गम्भीर रोगले थलिएको अवस्थामा आर्थिक अभावका कारण अस्पत्तालको सिँढीमा उसका आफन्तलाई जीवनभर पीडा दिएर मृत्यु रोज्न वाध्य भएका घटना धेरै नै छन् । यो वजेटमा धनी तथा ठूला ठूला व्यापारीहरुलाई करको दायरा बढाएर भएपनि जुनसुकै उमेर समुहका नेपाली नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा लागू गर्नुभयो भने जसरी भारतको नाकावन्दीताका राष्ट्रियताका मामलामा अनि नेपाली भूमी फिर्ता ल्याउने प्रकृयामा तपाईको सवैतिर हाई हाई थियो अहिले प्रथमत यो कामले तपाई हरेक नेपाली जनको मन मुटुमा सदैव रहिरहनु हुनेछ । र आम जनताको अपेक्षा पनि यहि नै छ ।
भ्रष्टाचारको खाडललाई जरैदेखि निर्मुल पार्नको लागि भ्रष्ट व्यक्ति “चाहे त्यो जो सुकै होस्“ को सारा सम्पति राष्ट्रियकरण गरी लामो समय जेल सजाय दिने,
जनताको दैनिक आवश्यकताका चिजहरु जस्तैः गास, वास, कपासको समस्यालाई न्युनीकरण गर्दै जानुका साथै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरुलाई पहिलो प्राथामिकतामा राख्ने
कर छल्ने व्यक्तिहरुलाई अष्टेलिया सरकारको जस्तो कानुन लागू गरेपछि ठग व्यक्तिहरु आफै नैतिकताको दायरामा आउन वाध्य हुन्छन्,
निर्माण व्यबसायतिर ठेक्का पट्टा दिँदा पाखुरे र डन प्रवृतिको अन्त गर्न यो देशमा इन्द्रेको वाउ चन्द्रे आएपनि नसक्ने भएकोले यसको रेखदेखको जिम्मा सुरक्षा निकाय या सेनालाई दिने,
६ “ज“ को सिद्धान्त (जल, जमिन, जंगल, जनावर, जडिबुटी, जैविक वस्तु,) लाई अंंगीकार गरी यसको उपयोग गर्न विशेष ध्यान दिने,
नेताको चोटा कोठामा वस्ने र नेताकै वरीपरी रमाउने राजनीतिक विचौलियाहरुदेखि सजग रहने किनकी यी देश विकासका वाधक तत्वहरु हुन्,
राज्यले जनतालाई दिन मिल्ने विशेष सेवा सुविधालाई कार्यकर्तामुखी नवनाएर जनतामुखी वनाउनुपर्ने,
अहिले अर्को तनावकोरुपमा खडा भएको नेपालको सीमा क्षेत्रमा वसोवास गर्ने नेपालीहरुलाई हो, त्यसैले देशको सीमाना व्यबस्थापनको लागि नेपाल भारतको सीमानामा तुरुन्त पर्खाल लगाउने व्यबस्था गर्ने,
जनताका प्रतिनिधिले राजनीतिलाई पदको रुपमा मात्र सीमित नराखी सेवा र त्यागकोरुपमा अनुसरण गर्नुपर्ने भावनाको विकास गराउने,
चुनाव अगाडि गरिएको प्रतिवद्धतानुरुप माओवादीसँगको पार्टी एकीकरण हुन नसके पनि आफ्नै पार्टी भित्र भएको तिक्ततालाई समाधान गर्नको लागि एक कदम पछि हटि पार्टि भित्र भएको सम्पूर्ण समस्याको जड पहिचान गरी समस्या समाधान गर्न जुन कार्यदल गठन गरिएको छ त्यो सह्रायिन छ र उक्त कार्य दलले निष्पक्षरुपमा काम सम्पन्न गरोस भन्ने आम कार्यकर्ता र जनताको अपेक्षा छ ।
शैक्षिक संस्था लगाएत विभिन्न प्रशासनिक निकायहरुमा कर्मचारीहरुलाई राजनैतिक भर्ती केन्द्रको अखडाकोरुपमा प्रयोग गर्ने नियतीलाई बन्द गर्ने,
राज्यको जिम्मेवार पदमा आसीन व्यक्तिको पहिलो कर्तव्य राज्यप्रति उदारता होस् न कि आफ्नो सात पुस्ता उभो लगाउन,
यातायात क्षेत्रको दुर्त गतिमा विकास गरी, ब्यपार व्यबसाय शतप्रतिसत दक्षिणतिर मात्र नभै उत्तरतिरका नाकाहरुको ढोका खोल्ने जुन प्रयत्न गरिएको छ त्यसको लागि अझ पहल गर्ने, र विगतदेखि सारा जनताले तपाइसँग आशा गरेको कुरा रेल मार्ग हो, यसलाई जसरी पनि विस्तार गर्नुपर्ने,
जमीनको सहि सदुपयोग कृषिकोरुपमा होस्, न कि प्लटिङ्गं गरी घर निर्माण गर्ने,
दैनिक घरबाट निस्कीने फोहरलाई व्यबस्थापन गरी यसबाट ग्याँस उत्पादन गर्ने,
अहिले जनता, प्रहरी र अदालती कारवाहीबाट वाक्क दिक्क छन् यसको मतलव सवै प्रहरी, वकिल र न्यायधिस खराव भन्न खोजिएको होइन र गलत अर्थ नलागोस् तैपनि प्रहरीबाट हुने अत्याचार र अदालतबाट हुने झुठा अभियोग खेप्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य होस् ता कि निरीह र गरिव जनताले न्याय पाउनको लागि घर घडेरी बेच्न नपरोस् ।
तसर्थ, प्रधानमन्त्रीज्यू, नेपाल एक प्राकृतिक श्रोत र साधन सम्पन्न देश भएकोले यसको सहि सदुपयोग गरी दैनिक हजारौं विदसीएका युवाहरुलाई स्वदेशमा नै रोजगारीको अवसरहरु दिलाउनको लागि हालै तपाईको नेतृत्वमा बनेको सरकारले पक्कै पनि निर्वाधरुपमा पहल कदम चाल्ने नै छ । यी कुरा सारा नेपाली जनताको भित्री आत्मामा खुलदुलीका आश्वासनकारुपमा सल्वलाएका छन् । तर पहिला यो कोरोना महामारीबाट कसरी जनतालाई बचाउन सकिन्छ भन्नेतिर सोच्न जरुरी भएको छ । अनि ती सडकमा भौंतारीरहेका आवाजविहीनहरुका आवाजहरुले पनि पक्कै सहारा पाउने नै छन् ।
त्यस्तै एउटा कुरा पनि ख्याल राख्नुपर्ने हुन्छ कि आज छोटो समयमा जापान र स्वीट्जरल्याण्ड जस्ता देशहरु अव्वल हुनुको कारण खोज अनुसन्धानप्रतिको लगाव र लगानी हो भन्ने कुराको हेक्का नेपाली राजनीतिज्ञहरुमा पक्कै पनि हुनेछ । कुनै पनि काम गर्नुभन्दा पहिला विज्ञ, प्राज्ञ, अर्थविद, बैज्ञानिक, पत्रकार, इन्जिनियर, भु.पु.खारिएका राजनीतिकर्मीहरु, मानवअधिकारवादीहरु आदिबाट सुझाव र सल्लाह लिएर विपक्षी पार्टीहरुको पनि सहकार्यमा वोली कम तर काम धेरैको सिद्धान्तलाई अंङ्गीकार गदै अगाडि बढि अवको केहि वर्षमा कम्सेकम विकास र समृद्ध नेपालको रोडम्याप कस्तो हुनुपर्छ र कुनै पनि कुराको निकास निस्कन सम्बन्धित क्षेत्रको विकास अति आवश्यक हुने कुराको हेक्का जनताको मानसपलटमा पक्कै पनि रहनेछ भन्दै पत्रबाट विदा हुन्छु, धन्यवाद । अभिवादन
मध्यनेपाल नगरपालिका २, हाल काठमाण्डौ ।