जेठ ५, बाँके । डुडुवा गाउँपालिका वडा नम्बर ५ मा रहेको गोकुल सामुदायिक वनमा वयस्क भाले पाटेबाघ मृत अवस्थामा फेला परेको हो ।
सामुदायिक वनको खण्ड ५ मा पर्ने खैरी वन क्षेत्रमा मृत अवस्थामा रहेको अन्दाजी १० वर्षको वयस्क भाले पाटेबाघ फेला परेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत रमेश बुढाथोकीले बताए । ‘मृत अवस्थामा पाटेबाघ सामुदायीक वन क्षेत्रमा फेला परेको हो’ उनले भने, ‘उक्त पाटेबाघ १/१५ दिन पहिलेनै मरेको वा मारिएको हुनसक्छ ।’
मृत फेला परेको वयस्क भाले पाटेबाघको लम्बाई ९ फिट ५ ईन्च रहेको बताइएको छ । पाटेबाघ जीउ फुलेर डम्म भएको, किराहरु परेको, झिङ्गा भन्किएका, छालाको केहि भाग सडेगलेर रौं खुइलिएको, अगाडीको चारवटै दाह्रा काटेर लगेको र जुङ्गाहरु झिकिएको अवस्थामा फेला परेको थियो ।
मृत पाटेबाघको शरीरको कुनै पनि भागमा चोटपटक नदेखिएको, गोली वा धारिलो हतियार प्रयोग भएको नदेखिएको भएतापनि चारवटै दाह्रा काटेर लगेको र जुङ्गाहरु झिकिएको अवस्थामा फेला परेको हुनाले बाघलाई कसैले बिष सेवन गराएर मारेको हुन सक्ने सहायक वन अधिकृत बुढाथोकीले बताए । यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान अगाडि बढाएको छ । मृत अवस्थामा फेला परेको पाटेबाघ बाँके राष्ट्रिय निकुञ्ज भित्रबाट वन क्षेत्रमा आएको हुनसक्ने अनुमान गरिएको छ ।