वैशाख ६, काठमाडौं । शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेका सात जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले एसएलसीको प्रमाणपत्र किर्ते गरेको आरोपमा मोरङ विराटनगर महानगरपालिका-५ बस्ने २८ वर्षीय मोहमद सिद्दिकी, जनकपुर महानगरपालिका-७ जिरोमाईलमा बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, धनुषा घर भइ ललितपुरको महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङका ३१ वर्षीय दिपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका-३ बस्ने ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरी घर भइ भक्तपुर मध्यपुर ठिमी-२ बस्ने २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँलाइ पक्राउ गरेको हो।
सिआइबीले सोमबार पत्रकार सम्मलेन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीले शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा सिआइबीले अनुसन्धान अघि बढाएको थियो। बंगलादेशमा एमबिबिएस अध्ययन गर्न एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्क लगायत विवरण उनीहरूले सच्याएको पाइएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
पक्राउ परेका सिद्दीकी विराटनगरको न्युरो अस्पतालमा, सुभाषप्रसाद जनकपुर चिल्ड्रेन अस्पतालमा, मोहम्मद शाहिद चाबहिलको दिर्घायू गुरू अस्पतालमा र दिपेन्द्र गौतम पश्चिम रूकुमस्थित चौरझारी मिसन अस्पतालमा कार्यरत थिए। उनीहरूमाथि लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान गरिरहेको छ।