माघ ०६, काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना विरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलताको नजिक रहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने बताउनुभएको बीबीसीले जनाएको छ ।
उहाँले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु उचित नहुने बताउनुभयो । अहिले सम्म विश्वमा तीन करोड ९० लाख डोज खाप दिएको र त्यो ४९ वटा धनी देशका मानिसले पाएको भन्दै प्रमुख गेब्रियससले यसबाट थप चुनौतीहरु आउने बताउनुभयो ।
अहिलेसम्म चीन, भारत, रुस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । यी सबै देशहरुले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् ।