पुस ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले डा डिल्लीरमण रेग्मी बहुमुखी र बहुप्रतिभा धनी व्यक्तिको रूपमा रहेको बताउनुभएको छ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले आज यहाँ आयोजना गरेको डा रेग्मीको १०९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले आफ्नो सबै सम्पत्ति सरकारले हस्तान्तरण गरेर डा रेग्मीले समाजवादको उदाहरण प्रस्तुत गरेको बताउनुभयो । डा रेग्मीले आफ्नो सम्पत्ति सबै सरकारलाई बुझाएर समाजवादको अभ्यास गरेको उहाँले बताउनुभयो ।
“डा रेग्मीले आफ्नै सबै सम्पत्ति सरकारलाई हस्तारन्तरण गर्नुभएको छ”, उहाँले भन्नुभयो, “संविधानमा लेखिएको समाजवाद ल्याउने कुरा डा रेग्मीबाट सिक्नुपर्दछ ।” उहाँले निजी रहेको सम्पत्ति सार्वजनिक गरेर डा रेग्मीले उदाहरणीय काम गरेको प्रस्ततु गरेको बताउनुभयो । उहाँको ज्ञानबाट समाज परिवर्तन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले डा रेग्मीले नेपालमा शान्ति अमनचयन र सुशासन ल्याउनका लागि अग्रसर रहनुभएको औँल्याउनुभयो ।
उहाँले जमलमा चाँडै पुस्तकालय स्थापना गर्ने जानकारी दिनुभयो । शिक्षा सचिव यादवप्रसाद कोइरालाले डा रेग्मी बहुप्रतिभाको धनी रहेको भन्दै मुलुक बनाउनका लागि सङ्ल्पकका लागि डा रेग्मीलाई सम्झनुपर्ने बताउनुभयो । उहाँले डा रेग्मीले लोभ नदेखाएर नै सबै सम्पत्ति सरकारलाई बुझाएको बताउनुभयो ।
समितिका अध्यक्ष धु्रवकुमार घिमिरेले नेपालको इतिहास अध्ययन अनुसन्धान पहिलो पटक नेपालीले गर्ने डा रेग्मीले बताउनुभयो । डा रेग्मी आफू निधन हुनुभन्दा अगाडि लाजिम्पाटमा रहेको एक रोपनी १० आनामा रहेको जग्गासहित निजी घर सरकारलाई हन्तान्तरण गर्नुभएको थियो । अहिले सोही ठाउँमा पुस्तकालय रहेको छ । विसं २०७२ मा आएको भूकम्पका कारणले पुस्तकालयमा क्षति पुगेको छ । अहिले सोहीमा ६ तले पुस्तकालय भवन बन्दै छ । पुस्तकालयमा ३५ हजार पुस्तक रहेका छन् । विसं १९७० मा जन्मनुभएका रेग्मीको विसं २०५८ मा निधन भएको थियो ।
–––