• २०८३ असार ३ गते बुधवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ३, काठमाडौं । मकवानपुर, कैलाश गाउँपालिका-९ नामटारबाट ९ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-४ झ्याङ्ने बस्ने १५ र १४ वर्षीय किशोर रहेका छन् । पदैल हिँडिरहेका उनीहरुलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने ३० वर्षीय प्रफुल राजवंशीलाई २ ग्राम २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ, १ थान डिजिटल काटा, नगद ५ हजार २ सय रुपैयाँ र ४ थान मोबाइल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको घर र शरीर तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

धनुषा, जनकपुर उपमहानगरपालिका-९ स्थित ज-३ प २७७८ नम्बरको मोटरसाइकलबाट १ हजार ५ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट, चारमिनार मुम्कका २४ प्याकेट, राजनिवास ३ पैकेट र १ थान चक्कु सहित क्षिरेश्वरनाथ नगरपालिका-१० बस्ने २५ वर्षीय संतोष कुमार यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलको जाँच गर्दा सिट मुनी लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक यादवलाई पक्राउ गरेको हो ।

यसैगरी धनुषा, शहिदनगर नगरपालिका-३ यदुकुहा बस्ने जिवछ मण्डललाई २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा र नगद ६१ हजार ९ सय ९७ रुपैयाँसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले तलासी गर्दा बाक्समा लुकाई राखेको उक्त गाँजा र नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस