• २०८३ असोज २४ गते शनिवार

सिआइबी द्वारा बेपत्ता भएका दम्पतीको खोजी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ५ , महोत्तरी। यहाँको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थालेको हो ।

यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता दम्पतीको खोजी गरिरहेको बताए पनि पत्ता लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सिआईबी टोली खटाएको हो । झा दम्पती सुतेको खाटसहितै हराएका छन् ।

 फागुन ११ गते बिहान झा दम्पती हराएको घटना सार्वजनिक भएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक जाँच गर्दा घरकोठाको सङ्घारमा रगतका छिटाजस्तो देखिएपछि हत्या गरिएको हुनसक्नेसम्मको अड्कल गरिएको छ । बेपत्ता वृद्ध दम्पतीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले खोजी भइरहेको जनाए पनि पत्ता लाग्न नसकेपछि यहाँ सिआइबी टोली खटाइनुपर्ने माग बढेको थियो । लामो समयसम्म बेपत्ता झा दम्पती अवस्था पत्ता लाग्न नसकेपछि खोजी कार्य फितलो भएको गुनासो गर्दै मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ समितिसहित ४४ सामाजिक सङ्घसंस्थाले सिआइबी टोली परिचालन गर्न प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

यसअघि बेपत्ता झा दम्पतीको खोजीमा प्रहरीले ५० भन्दा बढीलाई जिल्ला प्रहरी कार्यालय पुर्याएर केरकार गर्दा पनि घटनाबारे खास तथ्य फेला नपरेपछि पिपरा गाउँपालिका क्षेत्रमा त्रास फैलिएको छ । झा दम्पती सुतेको खाटसहितै बेपत्ता पारिएको घटनाको यकिन कुरा आउन नसक्दा झनै बढी रहस्यपूर्ण बनेको छ । अहिले सिआइबीले खोजबिन गर्न थालेपछि जिल्लामा घटनाबारे यकिन तथ्य आउने आस भने पलाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस