• २०८३ बैशाख १४ गते सोमवार

मनाङको ‘होम ग्राउण्ड’मा पुलिसको परीक्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

पौष २, कास्की । मोफसल फर्किएको शहीद स्मारक ‘ए डिभिजन लिग फुटबल’ को पहिलो खेलमा नेपाल पुलिस क्लबले भोलि शनिबार मनाङ मस्र्याङदी क्लबको सामना गर्दैछ । मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ बनाएपछि पुलिस क्लब ‘कतार ऐवरवेज’ शहीद स्मारक लिगको पाँचौँ चरणको खेल खेल्न पोखरा झरेको हो ।

पोखराको मैदानमा मनाङ र पुलिस दुवै सफल टोली हुन् । आहा ! रारा गोल्डकप फुटबलमा यी दुई टोलीको गर्विलो इतिहास छ । भोलिका खेलमा पुलिस क्लबको तुलनामा मनाङलाई पोखरेलीको समर्थन बढी हुन्छ ।

दर्शकको साथ पाउने भएकाले पनि मनाङले पोखरालाई रोजेको हुनुपर्दछ । घरेलु फुटबलका यी दुई चर्चित क्लब शहीद स्मारक लिगको ६७ वर्षको इतिहासमा पोखराको मैदानमा उत्रिँदा तीन अङ्क जोड्ने ध्याउन्नमा हुनेछन् ।

पोखरा रङ्गशालामा आज आयोजित ‘प्रिम्याच कन्फरेन्स’ मा दुवै टोलीका प्रशिक्षकले राम्रो फुटबल खेल्दै तीन अङ्क जोड्ने दावी गर्नुभयो ।

जारी लिगमा चौथो चरणको समाप्तिसम्म मनाङ १० अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा छ । ‘लिग लिडर’ मछिन्द्रसँग समान अङ्क भए पनि गोल अन्तरमा मनाङ पछाडि छ । ‘होम ग्राउण्ड’मा पुलिस विरुद्धको खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा उक्लिने मौका मनाङलाई छ ।

पुलिस क्लब पनि मनाङको घरेलु मैदानमा उसलाई पराजित गरेर अङ्क तालिकामा माथि उक्लिन चाहन्छ । लिगमा पाँच अङ्कसहित आठौँ स्थानमा रहेको पुलिसलाई उपाधिको लक्ष्यमा कायमै रहन मनाङसँगको तीन अङ्क महत्वपूर्ण हुनेछ । विपक्षी टोलीको मैदानमा शतप्रतिशत नतिजा निकाल्दै अघि बढ्ने रणनीतिमा पुलिस क्लब छ ।

पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले मनाङको ‘होम ग्राउण्ड’ भए पनि पोखराको मैदान आफूहरुका लागि ‘लक्की’ सावित हुँदै आएको बताउनुभयो । लिगको उपाधि दौडमा कायम रहनका लागि पनि मनाङसँगको खेल महत्वपूर्ण रहेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “मनाङ सशक्त विपक्षी हो, नकआउटदेखि लिगमा समेत कठिन चुनौती दिँदै आएको छ । पोखराको मैदान हाम्रा लागि पनि लक्की सावित हुँदै आएको छ । उपाधि दौडमा रहनका लागि पनि खेल्न जित्नैपर्ने दवावमा छौँ ।” टोलीले अघिल्ला चार खेल तुलनात्मकरूपमा बलिया टिमसँग खेलेकाले पनि अङ्क तालिकामा पछाडि रहेको तर्क थापाको छ ।

मनाङ क्लब पोखरेली दर्शकको साथ पाउने भएपछि उत्साहित छ । विगतमा मनाङको खेल हुँदा रङ्गशालामा दर्शक ओइरिने गरेका थिए । असी प्रतिशत दर्शकको समर्थक पाउने विश्वासमा मनाङ छ ।
मनाङका प्रशिक्षक राजेन्द्र तामाङले राम्रो फुटबल खेलेर जित्ने योजनामा रहेको बताउनुभयो । पुलिस बलियो प्रतिद्वन्द्वी रहेकाले कम आकलन नगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो खेल हेरेर रणनीति बनाएका छौँ । राम्रो फुटबल खेल्दै दर्शकको फाइदाको उपयोग गर्नेछौँ ।”

पुलिस क्लब पनि पोखरामा परिचित रहेकाले राम्रो ‘कन्फिडेन्स’ सहित खेलेर जित हासिल गर्ने योजनामा रहेको तामाङले बताउनुभयो ।

पुलिसका कप्तान राम वजीले टोलीको तयारी राम्रो भएको बताउनुभयो । काठमाडौँबाट खेल्न आएकाले राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्ने दावी गर्नुभयो ।

जारी लिगअन्तर्गत पोखरा रङ्गशालामा तीन खेल हुनेछन् । शनिबारको खेलपछि मनाङले पुस ११ गते ब्रिगेड ब्वाईज क्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग यहाँ खेल्ने तालिका छ ।

कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङले पहिलोपटक पोखरामा लिग फुटबल हुँदा खेल क्षेत्रमा उत्साह थपेको बताउनुभयो । कोरोनाले लामो समय ठप्प खेल क्षेत्रलाई चलायमान बनाएर पूर्ववत् अवस्थामा फर्काउन लिगका खेल महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस