• २०८३ जेष्ठ २४ गते आइतवार

प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री भट्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा शुक्रबारदेखि सुरु भएको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सुदूरपश्चिममा खेलकुदको विकासका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको छ भन्नुभयो ।

उहाँले प्रदेशको खेललाई अगाडि बढाउनका लागि प्रदेश खेलकुद परिषद् गठन गरेको र त्यसैमार्फत खेलकुदका गतिविधि अगाडि बढिरहेको बताउनुभयो । समाज र राष्ट्रको पहिचान खेलकुदका माध्यमबाट हुने भएकाले स्थानीयस्तरमा रहेका खेलाडीलाई प्रोत्साहान गर्न खेलकुदका गतिविधि सञ्चालन गर्नका लागि भौतिक संरचना निर्माणको कामलाई पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

प्रदेश सरकार गठन भएसँगै आफूले पहिलो बजेटमा धनगढीमा रहेको फाप्ला मैदानलाई बहुउपयोगी खेल मैदान बनाउने भनेर बजेट छुट्याएको उहाँको भनाइ छ । प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एक खेल मैदान अनिवार्य बनाउनुपर्छ भनेर प्रत्येक वर्ष बजेट बिनियोजन गर्दै आएको बताउँदै उहाँले खेलकुदका माध्यमबाट सुदूरपश्चिमलाई चिनाउन सुदूरपश्चिममा मुख्यमन्त्री कपको सुरुवात गरेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस