असार ३, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी हवल्दार तथा जवानका लागि संचालित १३९औं समूहको ट्राफिक नियन्त्रण तालिम सोही महाशाखामा बिहीबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।

तालिम समापनका अवसरमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले अहिलेको परिस्थितिमा कार्यक्षेत्र चुनौतीपूर्ण रहेको बताउँदै त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न तालिममा सिकेका कुराहरू सँगै अनुभव मार्फत् आफूमा सीप विकास गर्दै सम्पन्न गर्न प्रशिक्षार्थीलाई निर्देशन दिनुभयो ।
सिक्ने क्रमको समापन कहिल्यै नहुने भएकोले सबै प्रशिक्षार्थीहरूले तालिम पछि पनि स्वअध्ययनलाई प्राथमिकतामा राखी सवारी दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज तुल्याउन तालिममा सिकाइएको ज्ञान, सिपलाई व्यवहारमा उतार्नु आवश्यक हुने उहाँले बताउनुभयो ।
वैशाख १२ गतेदेखि शुरू भएको उक्त तालिममा प्रहरी हवल्दार १ जना र प्रहरी जवान ६१ गरी कूल ६२ जना प्रशिक्षार्थीहरुले सफलतापुर्वक तालिम हासिल गरेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले जानकारी दिनुभयो ।