जेठ ३, बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र बुटवल धागो कारखानाको कोरोना अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चारमध्ये दुईजनाको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा र दुईजनाको बुटवल धागो कारखानाको कोरोना विशेष आईसोलेसन अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका अनुसार वैशाख ३१ गते कोरोना संक्रमण पुष्टी भई आइतबार अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका सैनामैना नगरपालिका १ का ३८ वर्षिय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । त्यस्तै वैशाख २० गते इमर्जेन्सी वार्डमै भर्ना भएकी सिद्धार्थनगर नगरपालिका १३ की ६५ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनु भयो ।
यस्तै वैशाख २३ गते कोरोना संक्रमण पुष्टी भएकी सैनामैना–१ की ७७ वर्षकी महिलाको आइतबार मृत्यु भएको छ । उनी वैशाख ३० गते धागो कारखानाको कोभिड अस्थायी अस्पताल भर्ना भएकी थिइन् । यसैगरी वैशाख २८ गते कोरोनो संक्रमण देखिएका बुटवल–३ का ५६ वर्षका पुरुषको जेठ २ गते दिउँसो कोरोना अस्पताल बुटवलमा भर्ना भएकोमा सोही दिन आईतवार साँझ मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।