• २०८२ असार ४ गते बुधवार

एमालेमा दोहोरी !

पत्रपत्रिका पढ्न लाग्ने समय : ४ मिनेट

चैत ४, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बोलाएको भेलामा सहभागी नहुन आग्रह गर्दै सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटगत भेलामा सहभागी हुनेलाई पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिएका हुन् ।

असन्तुष्ट पक्षले भने कारबाहीको धम्कीले आफूहरू नतर्सने बताउँदै पार्टीमा व्याप्त निरंकुशताविरुद्ध लड्दा आफूहरू लामबद्ध कारबाही भोग्न तयार रहेको बताएका छन् । पार्टी अध्यक्ष ओलीसँग असन्तुष्ट माधवकुमार नेपाललगायतका नेताले बुधबार र बिहीबार काठमाडौंमा भेला गर्दै छन् । एमाले वरिष्ठ नेताद्वय नेपाल र खनालले सो भेलालाई सम्बोधन गर्ने र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।

‘आज भेला आह्वान गरेको छ रे । नेकपा एमालेसँग आवद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्न, नगराउन, त्यस्ता भेलामा सरिक नहुन सम्पूर्ण नेता कार्यकर्तालाई सजग, सचेत गराउन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । त्यस्ता गुटगत भेलाहरूमा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्छु । अनुशासनहीन काम भयो भने पार्टीको विधान, संसद्को नियमावली र दलसम्बन्धी कानुन छ । ती सबतिर म ध्यानाकर्षण गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले सडकमा विधिविधानका कुरा गरेर जंगलको राज गर्न चाहेको टिप्पणी गर्दै उनले अब पार्टीभित्र अराजकता चल्न नदिने बताए । ‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने रु लोकतान्त्रिक मूल्यमान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन, अंहकार स्वेच्छाचारिता,’ प्रधानमन्त्री ओलीले भने, ‘अब पार्टी ३ जेठ, २०७५ को भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिस छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्, निहुँ खोजिरहेका छन्, त्यस्तालाई उचित कारबाही हुनेछ ।’

७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आग्रह गर्दै गुटगत भेला गरेर पार्टीलाई कमजोर बनाउने काम नगर्न उनले सुझाव दिए । अध्यक्ष ओली एउटै पार्टीमा बसेर पार्टीमा अबउप्रान्त अराजकता, अनुशासनहिनता, उछृंखलता जस्ता कुराहरू, विधिविधानविपरीतका कामकारबाही, पार्टीको एकताविरोधी क्रियाकलाप गर्न कसैलाई छुट नदिइने बताए ।

पार्टीभित्र विचारमा एकताबद्ध भएर अनुशासित ढंगले काम गर्नुपर्ने बताउँदै उनले सत्य र अनुशासित समाज निर्माणका लागि एकताबद्ध, अनुशासित र गतिशील पार्टी हुनुपर्ने बताए । आफूहरूले फराकिलो सोच राखेको भन्दै उनले आत्मआलोचनासहित पार्टी एकताको पक्षमा उभिन असन्तुष्ट नेतालाई आग्रह गर्दै विगतमा जस्तै तमासा गर्ने कुरा अब पार्टीभित्र नचल्ने भन्दै चेतावनी दिए ।

ओली र नेपाल समूहका बीचमा दूरी बढ्दै गइरहेका बेला सोमबार भएको छलफलमा कुनै निष्कर्ष नआएपछि दुवै समूह आ–आफ्नै रणनीतिअनुसार अगाडि बढिरहेका छन् ।

ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी
यसैबीच नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिएका छन् । बुधबारदेखि सुरु हुने दुई दिने राष्ट्रिय भेलाबारे जानकारी दिने उद्देश्यले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिएका हुन् ।

‘तपार्इंले गर्ने प्रत्येक कारबाहीका निम्ति हामी लामबद्ध छौं । हामीलाई कुनै पश्चताप छैन । मुलुकका लागि संविधानका लागि र हामीले प्राप्त गरेको जनसमर्थनका लागि उभिएको मान्छे हौं । हामीलाई त्यसमा कुनै हिनताबोध छैन’ भट्टराईले भने, ‘जब इतिहासको कठघरामा तपार्इं उभिनुहुनेछ । जब इतिहासले सोधेका प्रश्नको तपार्इंले उत्तर दिन असमर्थ हुनुहुन्छ, त्यो बेला इतिहासले तपाईंलाई कठोर कारबाही गर्नेछ ।’

पत्रकार सम्मेलनमा उनले बुधबारको भेलामा सहभागी हुन प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा निम्तो दिए । भेलामा एमालेकै नेता कार्यकर्ता सहभागी भइरहेकाले सहभागी भई प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्य ग्रहण गर्न उनले आग्रह गरे ।

वामदेवको आग्रह
यसैबीच एमाले उपाध्यक्ष वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । मंगलबार एमाले एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै अभियानका संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तर्विरोध समाधान गराउन भूमिका खेल्नुपर्ने बताउँदै भने, ‘अब तपाईंको नेतृत्वको सरकार अनि त्यसको समर्थनमा वामपन्थी नआउने सरकार, त्यसरी नचलाउनुस् ।’ यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस