• २०८३ बैशाख १३ गते आइतवार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौँ। पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । क्रियाशील सदस्यता विवाद लगायतका कारण कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न सकेको छैन ।

दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने बताइएको छ । १३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०७६ साल फागुनमा समाप्त भएको थियो । विधानमा भएको व्यवस्था अनुसार एक वर्ष कार्यकाल थपिएको थियो । थपिएको कार्यकाल फागुन २० गते सकिँदैछ ।

त्यसपछि पनि कांग्रेसले संवैधानिक सुविधाअनुसार ६ महिना अवधि थप्न सक्छ । त्यो भनेको कांग्रेसको आयु २०७८ भदौसम्म कायम रहन्छ । भदौमा पनि महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता सकिन्छ । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव बैठकमा पेश गर्ने तयारी गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस