माघ ४, काठमाडौँ। कोरोना महामारीबीच ठूला करदाताले ३२ अर्ब अग्रिम कर (एडभान्स ट्याक्स) बुझाएका छन् । ठूला करदाता कार्यालयका अनुसार अग्रिम करको पहिलो किस्ता तिर्ने अन्तिम दिन पुस २९ गते ३२ अर्ब राजस्व संकलन भएको छ ।
सबैभन्दा धेरै एडभान्स ट्याक्स दिने अनुमान गरिएको एनसेलले ९५ करोड ८० लाख मात्रै कर दाखिला गरेको छ। एनसेलले भन्दा धेरै कर नेपाल टेलिकमले तिरेको छ । टेलिकमले १ अर्ब ८० करोड रुपैयाँ कर दाखिला गरेको हो ।
यस्तै नेपाल आयल निगमले १ अर्ब अग्रिमकर तिरेको छ । निगमको आम्दानीको नाफाबाट सरकारले २ अर्ब १८ करोड समेत प्राप्ति गरेको छ । यसैगरी राष्ट्र बैंकले सरकारलाई २ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि अग्रिम कर वापतको ३१ करोड रुपैयाँ बुझाएको छ । हाल ठूला करदाता कार्यालयमा ६ सय ८१ वटा करदाता समावेश छन ।