भदौ ३१, स्याङ्जा, । प्रचारप्रसारका अभावमा ओझेलमा परेको यहाँको गडहरे गुफाको विकासका लागि भौगर्भिक अध्ययन गरिएको छ ।स्याङ्जा भीरकोट नगरपालिका– ८ र ९ का सीमामा अवस्थित सो गुफाको भित्र तथा बाहिरी क्षेत्रको अध्ययन गरिइएको हो । सोे नगरपालिकाको पहल र त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा कविराज पौडेलको नेतृत्वको १२ जनाको टोलीले चार दिन लगाएर अध्ययन सम्पन्न गरेको हो ।
गुफा सम्भवतः नेपालकै सबैभन्दा लामो भएको हुनसक्ने भूगर्भविद डा पौडेलले दाबी गर्नुभयो । “गडहरे गुफा निक्कै लामो र यो कडा चट्टानहरुभित्र बनेको छ” उहाँले भन्नुभयो, “यो चट्टानबाटै सुरु भएर चट्टानमै पुगेर अन्त्य हुन्छ तसर्थः पनि यो गुफाको बनोट दह्रो छ, बलियो छ ।”गुफाभित्र ‘क्राष्टफिचर’ विभिन्न किसिमका आकृति मनमोहक र कलात्मक देखिएका छन् ।“कुनै ठाउँमा फराकिलो कुनै ठाउँमा साँघुरो बाटो हुँदै झण्डै एक किलोमिटरभित्र पुगिसकेपछि एउटा नयाँ किसिमको झरना देखिन्छ” उपप्रध्यापक डा पौडेलले भन्नुभयो, “उक्त झरना त्यही गुफाभित्रै हराएको छ यो पनि एउटा आकर्षणको रुपमा छ ।”
अध्ययन टोलीले गुफाको भित्री, बाहिरी बनोटभित्र देखिने विभिन्न किसिमका आकृति तथा संरचना, गुफाको लम्बाइ, चौडाईमापन गरेको छ । गुफाभित्र र बाहिरको सम्बन्धित विषयमा अध्ययन सकिएकाले एक महिनाभित्रमा उक्त प्रतिवेदन नगरपालिकालाई उपलब्ध गराइने अध्ययन टोली प्रमुख डा पौडेलले जानकारी दिनुभयो ।गुफाको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिसकेको नगरपालिकाले अध्ययनको विस्तृत प्रतिवेदन प्राप्त भएपछि त्यसकै आधारमा थप योजनासहित कार्यअगाडि बढाउने वडा नं ९ का अध्यक्ष भीमबहादुर गुरुङले जानकारीदिनुभयो । “धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचूर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा गुफा ओझेलमा परेको छ” उहाँले भन्नुभयो, “यसको प्रचारप्रसारसँग पूर्वाधारको विकास गरेर यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रकोरुपमा पहिचान दिनुपर्ने छ ।”
नगरपालिकाले राष्ट्रिय योजना आयोगको सङ्घीय समपुरक कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माण गरिरहेको योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारीदिनुभयो । गडहरे गुफा, ओखतीपानी, तमुनासा घरवास, ओकादी र फलाँटे ताल निर्माण कार्यको विस्तृत प्रतिवेदन प्रस्तावका लागि नगर विकास कोषमा पठाइएको उहाँले बताउनुभयो
–––