फागुन ४, धादिङ । धादिङ गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले ९५,०००/- घुस रकम सहित पक्राउ गरेको छ । गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग घुस बाफतको रकम लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनले अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा इन्जिनियर कार्कीलाई रु. ९५,०००।– अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित गंगाजमुना गाउँपालिका वडा नं. ५, धादिङ स्थित उनको डेराकोठाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जनाउनु भयो ।