असार १, कर्णाली । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली हुनुभएका प्रदेशसभाका चारजना सदस्य अनुपस्थित हुनुभएको छ । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुनुहुन्छ ।

संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना सदस्य बैठकमा अनुपस्थित हुनुभएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूचि छ । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले भएपनि चार सांसदको अनुपस्थित पछि त्यो जोखिम टरेको छ ।
गत वैशाख ३ गते माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेको माधव नेपाल समूहका ज्वाला, थापा, शाही र बुढाले विश्वासको मत दिएका थिए । त्यही कारण उनीहरु प्रदेशसभा सदस्यबाट निष्कासित भएकामा सर्वोच्च अदालतले उनीहरुको पुनर्बहाली गरिदिएको थियो ।