चैत २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएको छ । राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फागुन २३ गतेबाट सुरु भएको दोस्रो चरणको अभियानअन्तर्गत सात दिनभित्र १० लाख ६० हजारले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । सरकारले दोस्रो चरणको पहिलो प्राथमिकतामा ५५ वर्ष उमेरभन्दा माथिका जनसङ्ख्यालाई खोप लगाउने भनिए पनि खोप अपुग हुने भएपछि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई खोप दिइएको हो ।
दोस्रो प्राथमिकतामा परेका नागरिकले दैनिक एक लाखभन्दा बढीको सङ्ख्यामा खोप लगाइसकेका छन् । नेपालमा पहिलो पटक खोप आउँदा खोपबारे व्यापक भ्रम रहे पनि सरकार तथा निजी क्षेत्र सो भ्रम चिर्न सफल भएको छ । पछिल्लो चरणमा खोप लगाउनेहरू बढदै गएका छन् ।