फागुन ३,काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता सिर्जना गरी जनताको विश्वासमा तातो पानी खन्याउने काम बताएका छन् । प्रदेशसभाको तेस्रो वार्षिक कार्यक्रममा आफूमाथिको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको मुख्यमन्त्री राईले बताएका छन् ।
विपक्षीले गरेका यी सबै कार्यहरु जनविरोधी भएको बताउदै संविधान र संघीयतालाई नै कमजोर बनाउने गलत प्रयास भएको पनि उनले बताएका छन् । साथै, नेकपा प्रचण्ड–माधव समूहले आफूविरुद्ध गरेको अविश्वासको प्रस्तावलाई सामना गर्ने पनि उनले बताए । संसदीय व्यवस्थाको प्रचलित नियमविपरीत अविश्वासको प्रस्ताव आएकाले वैधानिकता प्रश्नको निरुपण गरी प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईले बताएका छन्।
यसैगरी प्रदेशसभाले राजधानीको टुङ्गो लगाएको र नामको पनि चाडै टुङ्गो लगाउने पनि उनले बताए । उनले भने, ‘प्रदेशसभाले राजधानीको टुङ्गो लगाएको छ र अबनामको पनि चाडै टुङ्गो लगाउनेछ ।’ मुख्यमन्त्री राईका अनुसार सत्तारुढ दलभित्रैबाट सरकार ढालेर, प्रधानमन्त्री, राष्ट्रअध्यक्ष, अनि क्रमश प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरुलाई अपदस्त गरेर ६ महिने, ९ महिने सरकार बनाउने खेल सुरु भएपछि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्रीद्वारा संसद भङ्ग गरिएको हो ।
पशून्यबाट सुरु भएको प्रदेश सरकारले तीन वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गरेको पनि उनले बताएका छन् । प्रदेश सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण कामको सूचीसहितको गोजी पुस्तिका सार्वजनिक गरेको पनि उनले बताए ।