साउन ३०, सुर्खेत । पछिल्लो तीन बर्षको अवधिमा कर्णालीबाट एक हजार नौँसय दुई जना महिला तथा बालिकाहरु हराएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार हराएका मध्ये आठसय ६४ जना बालबालिको अवस्था अझै अज्ञात छ । बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघसंस्थाको समन्वयमा उद्दार गरिएको छ ।

तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा सातसय ९० जना महिला तथा बालबालिका हराएका छन् । हराउनेमध्ये चारसय १६ जना महिला, एकसय ७३ जना बालक र दुईसय एकजना बालिका छन् । तथ्याङ्क अनुसार २०७५÷०७६ मा सुर्खेतबाट दुईसय ९१, दैलेखबाट एकसय ३७, जाजरकोटबाट ७७, रुकुमपश्चिमबाट ९६, सल्यानबाट ५५ जना हराएका छन् ।
त्यस्तै जुम्लाबाट ५०, हुम्लाबाट २१, डोल्पाबाट १० र मुगुबाट २० जना महिला तथा बालबालिका हराएका हुन् । सोही बर्ष विभिन्न समयमा हराएका पाँचसय ६४ जना महिला तथा बालिबालिका भेटिएका छन् ।
त्यस्तै आर्थिक बर्ष ०७६÷७७ मा कर्णाली प्रदेशभर पाँचसय ९५ जना महिला तथा बालबालिका हराएका छन् । तिमध्ये पनि तीनसय आठजना महिला, एकसय २२ जना बालक र एकसय ३७ जना बालिका छन् । तथ्याङ्क अनुसार ०७६÷७७ मा पनि सुर्खेतबाट तीनसय दुई, दैलेखबाट एकसय नौ, जाजरकोटबाट ३९, रुकुमपश्चिमबाट ३४ र सल्यानबाट ४४ जना हराएका छन् । त्यस्तै जुम्लाबाट २३, डोल्पाबाट चार, मुगुबाट तीन र कालिकोटबाट १८ जना महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ । सोही बर्ष ८२ जना महिला, ५८ जना बालक र ६१ जना बालिका गरी कुल दुइसय एक जना महिला तथा बालबालिका भने भेटिएका छन् ।
त्यस्तै चालु आर्थिक बर्ष पनि प्रदेशभर कुल पाँचसय १७ जना महिला तथा बालबालिका हराएका छन् । हराएकामध्ये महिला दुइसय ९२ जना महिला, ८५ बालक जना र एकसय ४० जना बालिका छन् । प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा पनि सुर्खेतबाट दुइसय ५०, दैलेखबाट एकसय २४, जाजरकोट २६, रुकुमपश्चिमबाट १८ र सल्यानबाट ४५ जना हराएको हुन् ।
त्यस्तै जुम्लाबाट २१ जना, डोल्पाबाट नौ जना, हुम्लाबाट सात जना, मुगुबाट पाँच जना र कालिकोटबाट आठ जना गरी कुल दुइसय ८२ जना महिला तथा बालबालिकाहरु हराएका छन् । चालु आर्थिक बर्षमा प्रदेशभर एकसय ३३ जना महिला, ४४ जना बालक र ६४ जना बालिका भेटिएका छन् ।
त्यस्तै पछिल्लो तीन बर्षमा हराएका एकहजार नौसय दुई जना सुर्खेतका चारसय २२ जनाको अवस्था अज्ञात छ । त्यस्तै दैलेखका एकसय ९१ जना, जाजरकोटका ७२ जना, रुकुमपश्चिमा ७६ जना र सल्यानका ४१ जनाको अवस्था पनि अज्ञात नै छ । जुम्लाका ३६ जना, हुम्लाका १६ जना, डोल्पाका पाँच जना, कालिकोटका २३ जना र मुगुका १२ जनाको अवस्था पनि एकीन छैन । अध्ययन, रोजगारी र सुख सुविधाको प्रलोभनम परेर कारण महिला तथा बालबालिकाहरु हराउने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अर्जुन चन्दले बताए ।
तस्कारले विभिन्न प्रलोभनमा परेर महिला तथा बालबालिकाहरु भारत तथा विभिन्न शहरमा पु¥याउने गरेको प्रहरी बताउँछन । तस्करले दुर्गम क्षेत्रका बालबालिकालाई राम्रो शिक्षा, दिक्षा दिने नाममा अभिभावककै सहमतिमा विभिन्न शहरमा पु¥याउँदै आएका छन् ।