वैशाख ३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम समुदायको पवित्र पर्व ईदुल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मनाईने धर्म, संस्कृति, परम्परा मौलिक पूँजीलाई समृद्ध नेपाली सुखी नेपालीको अभियानमा सदुपयोग गर्नुपर्ने बताउदै शुभकामना व्यक्त गर्नु भएको हो ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘एक महिनासम्म हरेक दिन सूर्यास्त नहुञ्जेल उपवास बसी मनाइने यस पर्वको अन्तिम दिन चन्द्रमाको दर्शनपछि आफन्त, साथीभाइ र परिवारजन बसेर मीठा खानेकुरा खाई ईदुल फित्र मनाउने चलन छ । नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश हो । यस्ता विशेषताहरु यहाँ मौलिक पूँजीको रुपमा रहेका छन् । एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।’
विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु देशमा सम्मानित र संरक्षित रहेको भन्दै उहाँले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताउनुभयो । ‘यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा छौं,’ सन्देशमा भनिएको छ ।
अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ र यस महिनाभर इस्लाम समुदायले बस्ने ब्रतलाई रोजा भनिन्छ । रमदान अवधीभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ । अरवी भाषामा ईदको अर्थ खुशी र फित्रको अर्थ दान हुनजान्छ । ईद पर्वमा ईदगाह ९खाली मैदान० वा ईदगाह नभएका ठाउँमा मस्जिदमा तराबी ९नमाज० पढ्ने चलन छ । यसै दिन गरिव र दीनदुःखीहरुलाई फित्र ९दान० दिने चलन पनि इस्लाम समुदायमा छ । मुस्लिम समुदायमा वार्षिक कमाइको साढे दुई प्रतिशत दान गर्नै पर्ने नियमलाई अरवी भाषामा जकाव भन्ने गरिएको छ ।
