• २०८३ बैशाख १९ गते शनिवार

नारायणहिटी संग्रहालयभित्रको सिनेमा हल सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १,काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हललाई सञ्चालनमा ल्याउन लागिएको छ । दरबार हत्याकाण्ड भएको १९ वर्षपछि अर्थात् आगामी वैशाखदेखि यो सिनेमा हल सर्वसाधारणका लागि खुला गर्न लागिएको जनाइएको छ । २०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको बताइएको छ। दरबारभित्रको यस सिनेमा हलमा सर्वसाधारणले डकुमेन्ट्री हेर्ने पाउने बताइएको छ ।

शाहीकालमा तत्कालीन राजपरिवारका सदस्यलाई सिनेमा हेर्न भनेर २०२६ सालमा उक्त सिनेमा हलको निर्माण गरिएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्या हुनुअघि २०५८ सालसम्म यो सिनेमा हल निरन्तर चलिरहेको थियो। तर, दरबार हत्याकाण्डपछि यस सिनेमा हल पूर्ण रुपमा बन्देज भएको थियो ।

वैशाखमा तत्कालीन राजा वीरेन्द्रले शुभराज्याभीषेकमा प्रयोग गरेको बग्गी सर्वसाधारणका लागि प्रदर्शन गर्ने तयारी रहेको जनाइएको छ । यस्तै, राजा वीरेन्द्रको विवाहको भिडियो खिचेको रिल पनि रहेकोले त्यो पनि देखाउने तयारी गरिएको जनाइएको छ।

दरबारभित्र सिनेमा हलको क्षमता एक सय जनाभन्दा बढी अट्ने जनाइएको छ। तत्कालीन राजा सहभागी रहेका देशविदेशका महत्वपूर्ण कार्यक्रमका भिडियोहरूको रिल पनि सुरक्षित रहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस