फागुन २, काठमाडौँ। नेकपाको प्रचण्ड-नेपाल समूहलाई फेरी अर्को झट्का लागेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले नेकपाको प्रचण्ड-नेपाल समूह परित्याग गरेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
प्रचण्ड-नेपाल समूहका रुपन्देहीका विभिन्न कार्यक्रम समेत घिमिरेकै नेतृत्व र सक्रियतामा हुँदै आएका थिए। घिमिरे र चौधरीसगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको एक सदस्यले बताए । घनश्याम भुसालको गृहनगरसमेत रहेको तिलोत्तमाका अधिकांश जनप्रतिनिधिले भुसालकै साथ छोडेपछि रुपन्देहीमा उक्त समूहमा व्यापक हलचल पैदा भएको छ ।
नेकपा महासचिव बिष्णु पौडेलले आइतबार बिहान एउटा तस्बिर फेसबुकमा पोष्ट गर्दै घिमिरे र चौधरी आफूहरूसँगै रहेको पुष्टि गरेका छन्। घिमिरेका प्रेस सल्लाहकार बिपी गौतमले पनि नगरप्रमुख र उपप्रमुखसगै अधिकांश कार्यपालिका सदस्यहरू ओली समूहमै रहेको बताए । बुटवलको भेलालाई सम्बोधन गर्न बुटवल आएका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उपप्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुगेका थिए ।