चैत ३१, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै मन्त्रालयले यस अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन सुझाव दिएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगिएको बताए । ‘संक्रमण डरलाग्दो संक्रमण यस मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् । १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ ।
स्वास्थ्यमन्त्री त्रिपाठीका अनुसार यसबारे कोभिड–१९ व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।