फागुन १, रसुवा। रसुवामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । शुक्रवार बेलुकी प्रदेश-३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेमा रहेको सडकबाट करिब २० मिटर तल खस्दा चितवनका ३० वर्षीय इन्द्रप्रसाद अर्यालको मृत्यु भएको हो ।
रसुवाको कालीका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फर्कने क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार राजेन्द्र लामा र अर्याल दुर्घटना परेका थिए । दुर्घटना लगत्तै नुवाकोटमा रहेको त्रिशूली अस्पतालमा पुर्याइएका अर्यालको उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको हो । घाइते भएका प्रहरी हवल्दार लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।