कात्तिक २६, झापा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध झापाको दमक र मेचीनगरमा प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार बेलुका दमक र मेचीनगर इँटाभट्टामा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन मागसमेत गरे । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विप्लव कार्यकर्ताले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्’, ‘नालायक सरकार राजीनामा दे’, ‘भ्रष्टाचारी सरकार मुर्दावाद, दलाल सरकार मुर्दावादजस्ता नारा लगाएका थिए । दमकमा भएको प्रदर्शनमा नेकपा झापाका जिल्ला कार्यालय सचिव सञ्जय राईले पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुमा सरकारले मूल्यवृद्धि गरेको भन्दै त्यसविरुद्ध सङ्घर्षमा उत्रन आग्रह गरे ।
यस्तै इँटाभट्टामा भएको सडक प्रदर्शनमा टायर बालेर विरोध गरिएको छ । कार्यक्रममा मेचीनगर इन्चार्ज जितले सरकारले जनताको भावनालाई लत्याएको आरोप लगाए ।