• २०८३ बैशाख ७ गते सोमवार

बागमती प्रदेशसभामा दलको संख्या आठ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौं, २७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका सांसदलाई निर्वाचन आयोगले मान्यता दिँदै प्रदेशसभालाई आधिकारिक रूपमा पत्र पठाएसँगै बागमती प्रदेशसभामा आबद्व दलको संख्या ८ पुगेको छ।

एमालेबाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी) को सांसदहरुलाई आयोगले मान्यता दिएसँगै बागमती प्रदेशमा एमाले विभाजनले आधिकारिकता पाएको छ। योसँगै प्रदेशसभामा रहेको दलको संख्या ८ पुगेको हो।

आइतबार निर्वाचन आयोगबाट प्राप्त माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरुको नामावलीसहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै प्रदेशसभामा आबद्ध दलको संख्या ८ पुगेको प्रदेशसभाको उपसचिव बिनोद अमात्यले जानकारी दिए।

बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल ४३ सांसद् रहेको एमाले, दोस्रो दल २३ सांसद्का साथ नेकपा माओवादी केन्द्र, २२ सांसद् रहेको नेपाली कांग्रेस तेस्रो, १३ सांसद भएको नेकपा एकीकृत समाजवादी चौथो, ३ सांसद रहेको विवेकशील साझा पार्टी पाँचौं, २-२ सांसद रहेका राप्रपा र नेमकिपाका क्रमशः छैटौँ र सातौं स्थानमा रहेका छन् भने एक स्वतन्त्र सांसद रहेका छन्। उनी जसपानिकट रहेका छन्।

नेकपा एमालेको विभाजनपछि राजेन्द्र पाण्डे, इन्द्रमाया गुरुङ, वसन्त मानन्धर, बसुन्धारा हुमागाई, रामा आलेमगर, मुनु सिग्देल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाद पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुसुम कुमार कार्की र मीना ज्ञवालीले एमाले त्यागेर समाजवादीमा सनाखत गरेका थिए।

एमाले विभाजनले आधिकारिकता पाएसँगै व्यवहारिक रुपमा अल्पमतमा परेको अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार कानुनी रुपमा पनि अल्पमतमा परेको छ। अब मुख्यमन्त्री शाक्यले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ। एमालेको सरकारलाई विस्थापित गराएर नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धनले तयारी गरिसकेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस