वैशाख २९, काठमाडौं । नेकपा एमालेले प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य पशुपति चौलागाईको निधनमा तीन दिनसम्म आधा झण्डा झुकाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ । केन्द्रीय कार्यालय सहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिन आधा झण्डा झुकाउने र शोक पुस्तिका राखिने वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो ।
चौलागाईको अन्तिम श्रद्धान्जलीमा वागमती प्रदेश इन्चार्ज एबम् गृहमन्त्री रामवहादुर थापा बादल, सहइन्चार्ज कृष्णगोपाल श्रेष्ठ, शेरवहादुर तामाङ, संचारमन्त्री पार्वत गुरुङ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
एमाले केन्द्रीय कार्यालयको ढोकामा स्वर्गीय चौलागाईको फोटोमा माल्यार्पण गरी नेताहरुले अन्तिम श्रद्धान्जली दिएका छन् । कार्यालयमा शोक पुस्तिका राखिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालयमा ३ दिन शोक पुस्तिका राखिने र श्रद्धाञ्जली दिन चहानेहरुले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आएर दिन सक्ने तामाङले बताउनु भयो ।