चैत्र ६, काठमाडौँ । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थिति नबनेको बताउँदै आइरहेका छन् ।
कांग्रेस महामन्त्री डा. शशांक कोइराला भने केही दिनभित्रै कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । सभापति देउवा स्थिति परिपक्व बनेपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री कोइरालाले भने हप्ता १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता हुने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् । कोइरालाले बिहीबार विराटनगरमा सञ्चारकमीसँगको कुराकानीका क्रममा केही दिनमा नै ओलीविरुद्ध अविश्वास प्रस्तावअघि बढ्ने र कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने दाबी गरेका हुन् ।
तर, कांग्रेस सभापति देउवाले भने सरकारको नेतृत्व गर्ने परिपक्व वातावरण नबनेको बताउँदै आइरहेका छन् । उनले विकसित राजनीतिक अवस्थामा सुरुदेखि नै सो धारणा राख्दै आइरहेका हुन् । देउवा मात्रै होइन उनी पक्षीय नेतासमेत अवस्था परिपक्व नबनिसकेको र कांग्रेसले सरकारको नेतृत्व गर्न हतार नगर्ने बताउँदै आइरहेका छन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले हप्ता १० दिनभित्रै कांग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति नबनेको र स्थिति परिपक्व नहुँदासम्म कांग्रेसले हतार नगर्ने बताए । ‘मलाई लाग्दैन नयाँ सरकार बन्ने वातावरण बनेको छ, त्यस्तो कुनै सहमति त भएको छैन, यसै हतार गर्ने सोचमा कांग्रेस छैन । पहिला स्थिति परिपक्व बन्नुप¥यो,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।
हाल संसद्मा एमाले पहिलो शक्तिका रूपमा रहेको छ भने कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र जसपा चौंथो शक्तिका रूपमा संसद्मा छ । पछिल्लो अवस्थामा संसद्को चौंथो दलका रूपमा रहेको जसपा जता खुल्छ उतै सरकार बन्ने अवस्थासमेत छ । तर, कांग्रेसका लागि जसपाले मात्रै साथ दिएर सरकार बन्ने अवस्था भने छैन । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र र जसपा दुवै शक्तिलाई विश्वासमा लिनुपर्ने देखिएको छ । तर, प्रधानमन्त्री ओलीले जसपाको साथ लिन सकेमा भने ओलीले नै सरकारमा निरन्तरता पाउने सम्भावना हुन सक्छ । तर, जसपाभित्रसमेत ओलीलाई साथ दिने पक्षमा मतैक्यता छैन ।
प्रतिनिधि सभातर्फ कुल २ सय ७५ सांसद छन् । जसमा एमालेमा १ सय २०, कांग्रेसतर्फ ६३, माओवादी केन्द्रको ५३ र जसपातर्फ ३४ सांसद छन् । यसैगरी, संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक-एक गरी चार सांसद छन् । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।