फागुन २८, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका(२ घर भएकी (चमेली) सिता तामाङ भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनले भारतमा कोठी सञ्चालन गरेको र नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको हो ।
उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुल्न आएको छ । उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको खुलेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । उनका विषयमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरी अनुसन्धान जारी छ ।
पीडित महिलालाई उनका सहयोगीले चितवनमा आफन्तको घरमा काम लगाइदिन्छु भन्ने बहानामा काठमाडौँबाट लगेको अनुसन्धानमा खुलेको छ । त्यसपछि गिरोहले बीच बाटोमा पानीमा बेहोस हुने औषधि खुवाएर भारतको नयाँ दिल्लीस्थित तामाङको कोठीमा पु¥याएर बिक्री गरेको खुलेको नेउपानेले बताउनुभयो ।
त्यसपछि तामाङले पीडितलाई बन्धक बनाई जबर्जस्ती यौन पेशामा लगाएकी थिइन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनका सहयोगी अन्यको खोजी जारी रहेको ब्युरोले जनाएको छ ।