फाल्गुन २८, काठमाडौं । काठमाडौंको बौद्धबाट साढे दुई किलो युरेनियमसहित चारजना प्रहरी ले पक्राउ गरेको छ। निषेधित पदार्थ यूरेनियमसहित पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ का मनोज न्यौपाने रहेका छन ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना भएको प्रहरीले बताएको छ । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाई छ । उनीहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर अनुसार अनुसन्धान भई रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशील सिंह राठौरले उनीहरुको बारेमा काठमाडौं प्रहरी परिसरमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
युरेनियम २३५ को अन्तर्राष्ट्रिय मूल्य प्रतिकिलो १८ अर्ब रुपैयाँ पर्न जान्छ । एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन बढी कोइलाबाट निस्कने तातो ऊर्जा बराबर हुने बताइन्छ । युरेनियम पारमाणविक भार भएको रेडियोधर्मी धातु हो ।