पौष २८, काठमाडौँ । नेपाल–भारत छैटौं परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बैठक हुने भएको छ । परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाको नेतृत्वमा दुई मुलुकबीच माघ १ र २ गते नयाँदिल्लीमा हुन लागेको संयुक्त आयोग बैठकमा नेपालले यसै वर्ष लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर जारी गरेको चुच्चे नक्सा र कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर एक दर्जन एजेन्डा तयार पारेको छ ।
स्रोतका अनुसार द्विपक्षीय वार्ताका लागि करिब एक दर्जन विषय छनोट गरिएका छन् । त्यसमध्ये नेपालले जारी गरेको चुच्चे नक्सा प्राथमिकतामा छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर नक्सा जारी गरे पनि उक्त भूभाग अहिले भारतीय अधीनमै छ । उक्त भूभाग फिर्ता ल्याउनका लागि छलफलको मुख्य विषय चुच्चे नक्सालाई बनाउन लागिएको छ ।
१. चुच्चे नक्सालगायत सीमा विवाद
२. कोरोना भाइरसको खोप
३. ईपीजी प्रतिवेदन
४. सन् १९५० को शान्ति तथा मैत्री सन्धि
५. आर्थिक सहयोग
६. द्विपक्षीय व्यापार
७. विभिन्न विकास परियोजनाहरु
८. रेल सञ्जाल
९. ऊर्जा
१०.डुबान र बाढी नियन्त्रण
११.प्रविधि आदान–प्रदान
१२.भूकम्पपछिको पुनर्निर्माण