कात्तिक २५, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रगतिशील सामाजिक अभियानकर्मी फाल्गुनन्दले चाल्नुभएका कदम र दिनुभएका उपदेश आजका दिनमा व्यावहारिक हुँदै आएको बताउनुभएको छ ।

राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले छोरा समान छोरीलाई शिक्षा र अंश दिनुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनका वस्तु प्रयोग गर्नुपर्ने जस्ता धारणा ल्याएर समाज सुधारमा योगदान गर्नुभएका फाल्गुनन्दले नेपाली समाज रूपान्तरणमा उच्च योगदान दिनुभएको बताउनुभएको छ ।
किराँत धर्मावलम्बीका प्रवर्तकमध्येका एक फाल्गुनन्दलाई आज संसारभरका किराँत समुदाय र आम नेपालीले सम्मानका साथ स्मरण गरिरहेको उल्लेख गर्दै उपराष्ट्रपतिले फाल्गुनन्दले देखाएको सत्मार्गमा लाग्दा देश र जनता सबैको अझै उत्थान हुने विश्वास व्यक्त गर्नुभएको छ ।