‘सल्यान ट¥यो सल्यानतिर दाङ ट¥यो दाङतिर……
यो दुःखीले गीत गाएको मन प¥यो कि परेन
अहिलेसम्म यो दुःखीलाई कसैले हेरेन……..
दुःखी मनको कुरा बुझ्यौ कि बुझेनौँ …।’
साउन २७, सुर्खेत । एकोहोरो आफ्नै कर्ममा टोलाएका कानहरु एक्कासि सारंगीको मनै रेट्ने धुनमा पुग्यो । मनै रेट्ने सारंगीको धुनका कारण हस्याङफस्याङ गर्दै गन्धर्व दाइसम्म पुगियो । गन्धर्व दाइले मनका वेदना सारंगीको तारमार्फत आँसु नै खस्ने गरी शब्दबाट ओकलिरहेका थिए । वरिपरि बसेर सारंगीको धुन सुन्नेले आफ्नो जिन्दगीको गहिराईसम्म पुगेर विगतका दिन स्मरण गर्दै थिए ।

सुर्खेतको वीरेन्द्रनगरमा सारंगी रेट्दै ७० वर्षे गोरे गन्दर्भ : तस्वीर जितेन्द्र थापा
दिउँसोको उखरमाउलो गर्मी । अनुहारमा बुढ्यौलीका धर्सा कोरिएका, विदीर्ण बन्दै गएको शरीर । नसा देखिन थालेका चाउरिएका गाला हातमा आफू जस्तै पुरानो र जीर्ण बन्दै गएको सारङ्गी बोकेर कर्णालीका विभिन्न स्थानमा सारङ्गी रेट्दै यी पंक्ति गाउँदै हिँड्ने यि वृद्ध अनुहार हुन्, गोरे गन्धर्व । प्रायले उनलाई जुङ्गे दाइ भनेर पनि चिन्छन् । सुर्खेत तातोपानी टोलका ७० वर्षीय गन्धर्व १३ वर्षको उमेरदेखि सारङ्गी रेट्दै आफ्नै लयमा गीत गाउँदै सुनाउदै बेदनाका पोका खोल्दै सुन्नेका गहभरि आशु आशु झार्दै वीरेन्द्रनगरका चोक चोक र पसलमा पुग्छन् ।
उमेरले डाडाँ काटेर ७० वर्ष पुगेर पनि घर कुर्नेबेलामा पुगेका गन्दर्भ सधैँ यसरी नै दिनभरि बजारमा सारंगी रेटेर जीविका चलाउँदै आएका छन् । ‘७ पुस्तादेखि जग्गाजमिन, लालपुर्जा भन्ने छैन । सम्पत्तिका नाउँमा यही एउटा सारंगी हो । ‘५३ वर्षदेखि यही सारंगी रेट्दै परिवार गुजरा चलाउदै आएको छु’, उनले वेदाना पोखे । उनका पुर्खाले पनि सारंगी रेट्दै गाउँघर चहार्दै लालाबाला पाल्दै आएका थिए । गोरे ४ वर्षको हुँदा आमा खसिन । खाऊँ–खाऊँ लाऊँ–लाऊँ भनेर स्कुल जाने उमेरमा बुबाको पछिपछि झोला बोकेर जाने गोरेले १२ वर्षको उमेरमै आफैं सारंगी रेट्न सिके । सानै उमेरमा बुबाको पनि मृत्यु भयो । बुबाको मृत्युपछि टुहुरा भए र घरको सबै जिम्मेवारी गोरेमाथि आइलाग्यो । बिहान सबेरै निस्केर दिनभर गाउँमा सारंगी रेट्दै मानोमुठी ल्याएर आफ्नो र भाइबहिनीको पेटको आगो निभाउँथे ।
स्कुल पढ्ने उमेरमा बुबाको झोला बोकेर हिँडेको अहिलेपनि झलझली सम्झन्छन, उनी । ‘बुबाले सारंगी रेटेको देखेर मैले पनि रेट्न सिकेँ । पछि आमाको पनि मृत्यु भयो र केही समयपछि बुबाले पनि संसार छाडे । त्यसपछि भाइबहिनी हुर्काउने सबै जिम्मेवारी मेरै काँधमा आयो त्यो पल अहिले पनि झल्झल्ती सम्झिन्छु ।’ पहिले–पहिले गाउँभरि डुल्दा १०–१५ पाथी अन्न हुन्थ्यो रे । ‘त्यो अन्न ट्रकमा बोकेर घरमा ल्याउँथेँ’, उनले भने, ‘अहिले गाउँभरि डुले पनि कसैले बुझ्दैनन् मेरो पीडा ।
युवा पुस्तामा सारङ्गीमोह कम हुँदै
पछिल्लो समय सारङ्गीको धून समाजले भुल्दै गएको र युवा पुस्तामा सारङ्गीमोह कम हुँदै गएकामा चिन्तित छन उनी । ‘अहिलेको युवा पुस्ताले पुरानो संस्कार र चलन भुल्दै गएको छ’, उनले भने, ‘अहिले हाम्रो जातिका मानिस सारङ्गी छुनसमेत मान्दैनन ।’
कुनै समय समाजमा दुःख पीडाका विषयमा बोल्दा, परदेशी कथा सुनाउँदा, माया प्रीतिका गीत गाउँदै गाउँगाउँमा हिँड्दा धेरैका आँखामा आँसुका धारा बग्ने गर्थे उनले भने । पहिला पहिला गाउँघरमा पुगेर गन्धर्वहरूले नै देश विदेशका घटनालाई, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनिसरा, मल्लार, कर्खार र असारे लगायतका भाकामा खबर दिँदै घुम्ने गर्थे ।
गाइने दाइ भनेर संबोधन गरिने गन्धर्व लोप हुँदै जादा गएकामा निकै दुःखी छन् उनी । ‘अहिलेका पुस्ताले भाकामा खबर दिने धुन भनेको के हो भनेर सोध्यो भने कसैले जान्दैनन ।’गोरे सारङ्गीलाई गन्धर्वको पेसाको माध्यम मात्र ठानिनु नहुने बताउँछन् । उनलाई लाग्छ, समाजका बाजागाजा, परंपरा र संस्कृति त सभ्यता पनि हुन । विगतमा गन्धर्वहरूले गाउँगाउँमा सारङ्गी बजाउँदै विभिन्न घटनाहरूलाई सुनाउने, सूचना तथा संचारको रूपमा काम गर्ने गरेका थिए । अहिले भने सूचना र संचारको प्रविधि बद्दिएको छ, माध्यमहरू फेरिएका छन् ।
आधुकि प्रविधिले खोस्दै अमुल्य संस्कृती
एफएम रेडियो र हातहातमा आएका मोवाइलले गन्धर्वको पेसासँगै सारङ्गी र एउटा अमूल्य संस्कृति पनि हराउन थालेको उनको भनाई छ । अहिले आधुनिक मोवाइल आएको छ । वनमा घाँसदाउरा गर्न गएका र गाईबस्तु चराउन जानेले कानमा औलाहालेर गुनगुनाउदा रनवन थर्किने गीतका भाका पनि हराउँदै गएका छन ।’ सूचना प्रविधिले अधिकांश मानिसलाई छोएको भए पनि ७० वर्षे गोरे गन्धर्वलाई भने छुन सकेन । उनी आजभन्दा पचास वर्षअघि जसरी नै सारङ्गी बोकेर आधुनिक बन्दै गरेको वीरेन्द्रनगर बजारमा पसल पसलमा गाउँदै हिँड्छन् । आफु गएपछि केहोला यो सारंगी पेशा अनि के होला मेरो सारंगी गहभरि आशु खसाल्दै सारंगी सुम्समाउदै उनले भने । गोरेको घरमा गोरेका ३ छोरी र २ छोरा छन । एउटी छोरीबाहेक सबैको बिहे भइसक्यो ।
छोराबाट उनले पनाति देखिसकेका छन । दुवै छोरा सँगै बस्दैनन् । उनी भन्छन्, ‘पनाति देखिसक्दा पनि मेरा दुःख कम भएका छैनन् । सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाहेक अन्य आम्दानीको स्रोत केही छैन । २ जना बूढाबूढी र एउटा छोरीलाई पाल्ने सम्पत्ति नै सारंगी हो’, उनले वेदनाको पोको खोले । कोरोनाका कारण गरिएको लकडाउनले गोर्खेको परिवार कयौँ दिन भोकभोकै रात बिताउन बाध्य भयो । उबेला साहूबाट लिएको ऋण अहिलेसम्म तिर्न नसकेको उनले सुनाए ।