• २०८३ बैशाख १७ गते बिहिवार

काठमाडौंका सडकभरि खाल्टैखाल्टा

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

असार २७, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका सडकभरि खाल्टाखुल्टी देखिन थालेका छन् । भित्री सडकमा मात्रै नभएर मुख्य सडकमा समेत खाल्टाखुल्टी बाक्लो रूपमा देखिन थालेका हुन् ।

अघिल्लो वर्षका लकडाउन तथा यस वर्षको निषेधाज्ञाको अवधिमा सडक विभागले चिटिक्क पारेका सडक वर्षा सुरु भएसँगै सडकमा खाल्टाखुल्टी देखिन थालेका हुन् भने मेलम्चीको पानी लिकेजका कारण पनि खाल्टाखुल्टी बढ्न पुगेको सम्बद्ध निकाय बताउँछन् । काठमाडौंको त्रिपुरेश्वर, कालिमाटी लगायतका सडक खण्डमा खाल्टाखुल्टी परेका छन् । कलंकीदेखि बालाजु, चाबहिल हुँदै कोटेश्वरसम्मको चक्रपथका विभिन्न भागमा पनि बाक्लो रूपमा खाल्टाखुल्टी देखिएका छन् ।

थापाथलीस्थित प्रसूति गृह अघि हिँड्नै समस्या पर्नेगरी सडक बिग्रिएको छ । काठमाडौं महानगरपालिकले ठेक्का लगाएको सो सडक खण्ड लामो समयदेखि मर्मत हुन सकेको छैन । महानगरपालिकाले पनि सडक बनाउन चासो नदेखाएको पाइएको छ ।

काठमाडौंका खोला कोरिडोरका सडकको अवस्था पनि दयनीय बनेका छन् । काठमाडौंका विभिन्न नाका जोड्ने सडकको अवस्था झनै दयनीय बनेका छन् । दक्षिणकाली, साँखु, टोखा, बालाजु, सीतापाइलालगायतका नाकाका सडकहरूको अवस्था राम्रो देखिएको छैन ।

महाराजगन्जबाट बूढानीलकण्ठ जाने सडकमा बिजुलीको तार बिछ्याउन खनिएको सडक करिब एक वर्षदेखि मर्मत गरिएको छैन । चाबहिल–बौद्ध–जोरपाटी–साँखु खण्डको सडकको अवस्था वर्षौदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे रहेको छ ।

ललितपुरको ज्वागलबाट शंखमूलतर्फ जाने कोरिडोर सडक बनाउन पनि आवश्यक चासो र तत्परता देखाइएको छैन । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले हिलाम्मे सडक विभागको कार्यक्षेत्रमा नपर्ने जनाउँदै स्थानीय तहलगायत विभिन्न सडक बनाउने निकायअन्तर्गतका रहेको बताउँछन् ।

‘विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने क्रममा कार्य सम्पन्न नभएकाले हस्तान्तरण नगरेको कारण मर्मत नसकिएको गंगालाल बूढानीलकण्ठ गोल्फुटार धुम्बाराहीबाहेक काठमाडौं सडक डिभिजनको सडक अपवादबाहेक सामान्य अवस्थामा छन्,’ उनले भने, ‘मेलम्ची पानीको लिकेजका कारण भएका खाल्टा मर्मत भइरहेको छ, वर्षाको कारण करिब २५ प्रतिशत मात्र सकिएको छ ।’ स्थानीय तहलगायत विभिन्न निकायले उपत्यकाभित्रका सडकका खाल्टाखुल्टी पुर्ने तथा नियमित मर्मतसम्भार गर्न तत्परता नदेखाउँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । सडकमा खाल्टो बढेसँगै सवारीसाधन चलाउनेहरू मात्र नभएर सर्वसाधरण, पैदल यात्री, स्थानीय व्यवसायीसमेत समस्या परेका छन् ।

उपत्यकाभित्रका सडक मर्मतसम्भार तथा निर्माणको दायित्व काठमाडौंमा सडक विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बाग्मती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं महानगरपालिकाका, ललिततपुर महानगरपालिका, भक्तपुर नगरपालिकासहित विभिन्न नगरपालिकाको रहेको छ ।

आफ्नो जिम्मेवारीभित्रको सडक मर्मतसम्भार गर्न यी निकायको उदासीनताका साथै समन्वय अभाव हुँदै आएको छ । कतिपयमा एकले अर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिने कामसमेत हुँदै आएको छ । सहरभित्रका आठ मिटरभन्दा साना सडक महानगरपालिकाले हेर्ने गर्छ भने नदी कोरिडोरमा सडक एकीकृत बाग्मती सभ्यता विकास समितिले हेर्ने गर्छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले मेलम्चीको पाइप बिछ्याउनका लागि खनिएका सडकको मर्मतसम्भार गर्न तत्परता देखाएको छैन । यता, विद्युत्को तार भूमिगत गर्न काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा सडक खन्ने काम हुँदै आए पनि समयमा नै सम्पन्न गर्नेगरी काम नभएको गुनासो छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस