फाल्गुन २७, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक परामर्श गर्न जनता समाजवादी पार्टी (जसपा) का नेताहरु साँझ ५ बजे बालुवाटार जाने भएका छन । सर्वोच्च अदालतको फैसलापछि देशको राजनीति नयाँ समिकरणको प्रयासमा रहेकाबेला जसपाका नेताहरु आफ्नो माग मुद्दा सम्बोधन गराउन र राजनीतिक निकासका लागि संसदको प्रमुख राजनीतिक दल एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसँग परामर्श गर्न लाग्नुभएको हो ।

जसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार बैठकमा जसपाका पाँच नेताहरुको सहभागीता रहनेछन । उहाँकाअनुसार संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, केन्द्रीय नेताहरु राजेन्द्र महतो र अशोक राईको बैठकमा सहभागीता रहने छन । पार्टीका नेता तथा सांसद रेशम चौधरीसहितका नेता कार्यकर्ताहरुको रिहाई, मधेससँग सम्बन्धित मुद्दा सम्बोधनका लागि संविधान संशोधनको विषयलाई प्रमुखरुपमा जसपाले उठाउँदै आएको छ । प्रधानमन्त्रीले आफूहरुको माग मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएमा सत्ता सहकार्यका लागि समेत तयार हुने सो दलले बताउँदै आएको छ ।