माघ २९, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको साङ्लेखोला छापका किसानले पालेका हाँसमा बर्डफ्लु पुष्टि भएको छ । साङ्लेखोला छापका किसान प्रल्हाद तामाङ र उनका छोरा सुमनले पालेको हाँसमा बर्डफ्लु पुष्टि भएको हो ।
तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाका अनुसार केही दिनअघि स्थानीय किसानले पालेको हाँसको नमुना त्रिपुरेश्वरको प्रयोगशालामा परीक्षणका लागि पठाएकोमा परीक्षणपछि बर्डफ्लु पुष्टि भएको हो ।
बर्डफ्लु पुष्टि भएसँगै ‘र्यापिड रेस्पोन्स टिम’ ले एक हजार चार सय हाँस र ६५ कुखुरा नष्ट गरेको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको छ । केही दिनअघि तारकेश्वर ७ को फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो ।