कात्तिक २४, डोटी । सुदूरपश्चिमका बन्द विमानस्थलमा जहाज चलाउन पहल गर्दै आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालनमा ल्याउने बताउनुभएको छ । जहाज नभएर सुदूरपश्चिमका नागरिकलाई असहज भइरहेका बेला मन्त्री आलेले बन्द रहेका सबै विमानस्थलमा जहाँज चलाउन लागि पर्नुभएको हो ।

यसै क्रममा उड्डयन मन्त्री आलेले निर्माणाधीन दार्चुलाको गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालनमा ल्याइने बताउनुभयो । आज नेकपा (एकीकृत समाजवादी) पार्टीको जिल्ला पार्टी घोषणा कार्यक्रमसहित उक्त निर्माणाधीन विमानस्थलको अनुगमनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले गोकुलेश्वर विमानस्थलमा चाँडै विमान सञ्चालन गर्नका लागि काम अगाडि बढेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दार्चुलाको गोकुलेसहित यहाँका पहाडी जिल्लाका सबै विमानस्थलमा नियमित जहाज चलाउने गरी काम अगाडि बढाएको छु, चाँडै नै यहाँका नागरिकले जहाज चढ्न पाउने छन् ।” सोही क्रममा मन्त्री आलेले निर्माणाधीन गोकुलेश्वर विमानस्थलका लागि बजेटको कुनै कमी हुन नदिने आश्वासनसमेत दिनुभयो ।
विमानस्थलको टर्मिनल भवन, टेक्सी पार्किङलगायत सबै भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिने बताउनुहुँदै मन्त्री आलेले थप भन्नुभयो, “विमानस्थलका लागि पर्याप्त बजेट विनियोजन गर्छु, निर्माण कार्य चाँडो सक्न नागरिको निगरानी पनि जरुरी छ ।”