भदौ २५, काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले वर्तमान परमादेशको गठबन्धनको नेतृत्व गर्नुभएको शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नभई रक्सीको भट्टी पसलको मात्र प्रधानमन्त्री भएको आरोप लगाएको छ ।काठमाडौँको नयाँ बानेश्वरमा आज संघको केन्द्रीय कमिटीको आयोजनामा सरकार कहाँ छ ? भन्दै आयोजना गरिएको बृहत टर्च लाईट कार्यक्रममा संघले वेलुकाभर देउवा भट्टी पसलमा बसेर रक्सीको बोतलको विर्को खोल्दै विताउने र दिउँसो भएपछि त्यसको ह्याङ्ओभरलाई भेटाउँदै बसेको आरोप लगाएको छ ।

तुहिन तर्ने क्रममा भारतीय एसएसवीले तुहिन काट्दा हालसम्म वेपत्ता भइरहेको, भारतीय सुरक्षाकर्मीको हेलिकम्टर नेपाली आकाशमा खुलम खुल्ला रुपमा उडिरहेको, भारतको विरुद्धमा चुइक्क बोल्न नसकेको, एमसीसीलाई जसरी पनि पास गराउन खोजेको, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले संसदलाई माओवादीको कार्यकर्ताको थलोजस्तै बनाएको, एमालेले कारवाही गरेको १४ जना सांसदलाई काारवाही नगरी संरक्षण गरेको, सरकारले गैरसंवैधानीक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गरेको लगायतका कुराहरुको विरुद्धमा संघले आन्दोलन गरेको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष किरण पौडेलले वर्तमान सरकार रक्सीले मातेको जस्तै भएको टिप्पणी गर्नुभयो ।
देउवा मुलुक र जनताको प्रधानमन्त्री नभई भट्टी पसलको मात्र प्रधानमन्त्री भएको भन्दै आक्रोस जनाउनुभयो । सरकार निरंकुस ढंगले अगाडी बढेको आरोप लगाउँदै उहाँले परमादेशी गठबन्धनको सरकारलाई जनताले घुँडा टेकाउने चेतावनी दिनुभयो ।

संघको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले देमन गरेको भन्दै उहाँले दमनको विरुद्धमा देशव्यापी आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी दिनुभयो । वर्तमान सरकारको आयु लामो नरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले एमालेको सरकार आएपछि संघका कार्यकर्तामाथि दमन गर्ने प्रहरीको हिसाव किताव राम्रैसँग गर्ने चेतावनी दिनुभयो ।
युवाहरु माथि भएको सांघातीक आक्रमण तस्विर, भिडियो तथा अन्य प्रमाणहरु संयुक्त राष्ट्र संघमा समेत पठाउने चेतावनी दिँदै अध्यक्ष पौडेलले सरकारले एमसीसी पास गरे एक सिठ्ठीका भरमा सरकारलाई सडकमा पछार्ने दावी गर्नुभयो । एमसीसी नेपालको हितमा नरहेको स्पष्टि पार्दै उहाँले एमसीसीको बारेमा देशभरका जनताहरुले मुलुकलाई रणभूमि बनाउन नदिन जस्तोसुकै कदम चाल्न वाध्य हुने चेतावनी दिनुभयो ।

कार्यक्रममा संघका उपाध्यक्ष तथा वाग्मती प्रदेशका इन्चार्ज अमित लामाले प्रहरीको दमनका विरुद्ध जस्तोसुकै कठोर कदम चाल्न संघ बाध्य हुने चेतावनी दिनुभयो । देश र जनतको निम्ती रगतको खोला बगाउन समेत संघ पछि नपर्ने चेतावनी दिँदै उहाँले राष्ट्र र जनताभन्दा माथि एमसीसी हुन नसक्ने बताउनुभयो ।
संघको कार्यालयबाट शुरु भएको आन्दोलन बबरमहल हुँदै रातोभालेमा पुगी समापन भएको थियो । कार्यक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो । जसमा ६ जना प्रदर्शनकारी घाइते भएका छने भने दुई जना प्रहरी समेत घाइते भएका छन् ।
