भदौ २५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आजको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले रोष्ट्रम घेराउ गरेका थिए। लगातारको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरे।
एमालेले कारबाही गरेका १४ जना सांसदहरूलाई सभामुखले कारबाहीको सूचना ननिकालेर दल विभाजनमा भूमिका खेलेको उनीहरूको आरोप छ।
सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घ का प्रावधानहरूसमेत जानकारी गराएका थिए।
बुधबार बसेको संसद् बैठक पनि एमालेले अवरोध गरेको थियो। पहिलो र दोस्रो बैठक अवरोध भए पनि तेस्रो बैठकमा एमालेका अवरोधबीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेका थिए।