वैशाख २७, कास्की । गत २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार म्याग्दी, पर्वत, कास्की, स्याङ्जाका १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आइतबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बेनी अस्पतालमा मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भयो । पोखरा–७ का ६७ वर्षीय पुरुषले आइतबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए । पोखरा–१३ का ८७ वर्षीय कोरोना संक्रमित पुरुषले सोमबार होम आइसोलेसनमै ज्यान गुमाए । स्याङ्जा फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीया कोरोना संक्रमित महिलाले आइतबार गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गुमाइन् । स्याङ्जाकै गल्याङ नगरपालिका–३ का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भयो ।
म्याग्दीको धौलागिरि गाउँपालिका–२ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषले सोमबार बिहान पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गुमाए । रुपन्देहीको बुटवल नगरपालिका–१ का ३४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार पोखराको फिस्टेल अस्पतालमा उपचारको क्रममा ज्यान गयो । पर्वत कुश्मा नगरपालिका–१ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार धौलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । तनहुँ भानु नगरपालिका–१ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७३ पुगेको छ ।