बैशाख २६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट नेपालमा पछिल्लो चौबिस घण्टामा ५२ जनाको मृत्यु भएको छ । विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना गरी २४ घण्टामा ८८ जनाको निधन भएको तथ्यांक थप भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५०६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा चार हजार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म तिन लाख २ हजार ७८७ सङ्क्रमित कोरोनामुक्त भएका छन् । देशमा हालसम्म कोरोनाबाट मुक्त हुने दर ७६.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ । जसमध्ये ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा र ८१ हजार ४३० जना होम आइसोलेसनमा रहेका छन् ।