वैशाख २६, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।
आजनै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिने बताइएको छ । प्रस्तावमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नया मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
यसअघि बैशाख ६ मा पनि गठबन्दनका ४१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वास प्रस्ताव सहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले बैशाख १९ मा विशेष अधिवेशन बोलाउनु भएको थियो । विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो ।