फागुन २४, काठमाडौं । नेकपाको केन्द्रीय कार्यालय रहँदै आएको धुम्बाराहीस्थित कार्यालयमा भोलि नेकपा एमालेका साइनबोर्ड राखिने भएको छ । नेकपा एमाले पुनर्स्थापित भएको भन्दै नेकपाका कार्यालयमा नेकपा एमालेको साइनबोर्ड टाँगिन थालेको हो।
सर्वोच्च अदालतको फैसलापछि मंगलबारसम्ममा अधिकांश जिल्लामा रहेका पार्टी कार्यालयको साइनबोर्ड फेरिन लागेको हो । नेकपाको एकता खारेज भएपछि नेकपा एमाले भएको केन्द्रीय कार्यालयसहित अधिकांश जिल्लाका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड लगाउन लागिएको हो ।
आजै नेकपा मोरङको कार्यालयमा एमालेको बोर्ड लगाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समर्थक नेता कार्यकर्ताहरुले नेकपा एमालेको साइनबोर्ड पार्टी कार्यालयमा लगाएका हुन् । पर्यटन मन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य विनोद ढकाल गुरु बरालसहितका नेताहरुले एमालेको बोर्ड टाँगेका हुन्।
यस्तै नुवाकोटमा पनि ओली पक्षका कार्यकर्ताले सोमबार पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन्। एमाले नुवाकोटका तत्कालीन उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो।