असोज २१, धनुषा । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेका छन् ।
लुटेराले उहाँको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको जनाइएको छ । घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरुपमा गरिरहेको जनाइएको छ ।